अर्थ

पर्यटक आगमनः उकालो लाग्दै भारतीय र चिनियाँको संख्या

मार्चमा १ लाख २८ हजार विदेशी पाहुना नेपाल भित्रिए

मार्च महिनामा मात्र नेपालमा हवाई माध्यमबाट एक लाख २८ हजार १ सय ६७ जना विदेशी पाहुना भित्रिएका छन्। मुख्य पर्यटकीय सिजन भएकोले पनि यो बेला पाहुना आगमन उच्च भएको पर्यटन बोर्डले बताएको छ।  

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सबैभन्दा बढी विदेशी पाहुना नेपाल भित्रिएको वर्ष २०१९ को मार्चमा भन्दा २०२४ को मार्चमा एकप्रतिशत बढी पाहुना नेपाल भित्रिएका छन। २०१९ को मार्चमा नेपालमा सबैगरि एकलाख २७ हजार ३ सय ५१ जना विदेशी पाहुना भित्रिएका थिए।  

२०२३ मार्चको तुलनामा भने २०२४ को मार्चमा झन्डै २९ प्रतिशत बढी पाहुना भित्रिएको लामिछानेले जानकारी दिए। उनका अनुसार २०२३ मार्चमा नेपालमा ९९ हजार ४ सय २६ जना विदेशी पाहुना भित्रिएका थिए। ‘यो सिजनदेखि पाहुना आगमनले निकै नै फड्को मारेको छ,’ लामिछानेले भने, ‘सबैजसो मुलुकका पाहुनाको आगमन थपिएको छ।’  

कोरोनाले अप्ठेरो पार्न थालेको सुरुवाती समय २०२० को मार्चमा नेपालमा ४२ हजार ७ सय ७६ जना पाहुना भित्रिएका थिए। कोरोनाको सुरुवाती असरले २०२० को मार्चको आगमन कम भएको थियो । त्यसपछिका वर्ष आगमनमा झनै असर पारेको थियो। २०२१ को मार्चमा जम्मा १५ हजार २ सय ५४ र २०२२ को मार्चमा ४२ हजार १ सय ५२ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए।

पछिल्लो समय नेपालमा पाहुना आउने मूख्य श्रोत मुलुकका पाहुनाको आगमन बढिरहेको उनले बताए। चिनियाँ, बंगलादेश, अमेरिकन, भारतीय लगायतका मुलुकका पाहुनाको आगमन बढेको लामिछानेले बताए। यो मार्चमा सबैभन्दा बढी पाहुना भारतीय भित्रिएका छन। यतिबेला भारतीयको पनि नेपाल आउने सिजन हो। एक महिना अवधिमा मात्र ३० हजार ६ सय ९८ जना भारतीय पाहुना नेपाल भित्रिएको बोर्डको भनाई छ।  

त्यस्तै दोश्रो स्थानमा चिनियाँ पाहुनाको आकार बढी छ। मार्चमा मात्र १२ हजार ९३ जना चिनियाँ पाहुना नेपाल आएका छन्। हवाई मार्गबाहेक स्थलमार्गबाट आउने भारतीयको आकार पनि ठूलै हुने तर, त्यसको आधिकारिक गणना नहुने उनले बताए।  

चिनियाँ पाहुनाको आगमनले पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखाएको बोर्डका निर्देशक लामिछानेले बताए। सबैभन्दा बढी पाहुना भित्रिएका वर्ष २०१९ को मार्चमा नेपालमा १७ हजार जना चिनियाँ पाहुना भित्रिएका थिए। ‘चिनियाँ र भारतीय पाहुनाको आगमन बढ्दै जाने हो भने पर्यटन क्षेत्रलाई सहज हुन्छ,’ उनले भने।

मार्चमा अमेरिकी पाहुनाको संख्या १० हजार ७ सय ६३ रहेको छ। बेलायतबाट ७ हजार २ सय ४१ जना पाहुना मार्च महिनामा नेपाल आएका छन्। त्यस्तै श्रीलंका, जर्मनी, थाइल्याण्ड, अस्ट्रेलिया, फ्रान्स लगायतका मूलुकका पाहुनाको आकार पनि बढिरहेको उनले बताए।  

‘चिनियाँ पाहुनाको आकारले लय लिएको छ। भारतीयको आगमन पनि बढिरहेको छ,’ उनले भने, ‘पर्यटन क्षेत्रमा अहिले सर्वत्र सकारात्मक संकेत देखिएको छ।’ बजारीकरणको अभावका बाबजुत पनि अहिले पाहुनाको आकार बढिरहेको उनले बताए। थप बजारीकरण गर्ने हो भने पोहोर भन्दा बढी पाहुना नेपाल भित्र्याउन सहज हुने बोर्डका निर्देशक लामिछानेको भनाई छ।  

लामिछानेका अनुसार नेपाल भित्रिने भारतीय र चिनियाँ पाहुनाको आगमन पछिल्लो समय निरन्तर बढिरहेको छ। यो जनवरीमा सबैभन्दा बढी २४ हजार भारतीय पाहुना नेपाल भित्रिएका थिए। त्यस्तै जनवरीमा नेपाल भित्रिने चिनियाँको संख्या ७ हजार २ सय ६७ थियो।  

फेब्रुअरीमा पनि नेपाल भित्रिने विदेशी मध्ये सबैभन्दा ठूलो हिस्सा भारतीयको रहेको छ। फेब्रुअरीमा २५ हजार ५ सय ७८ जना भारतीय पाहुना नेपाल भित्रिएका थिए। त्यसपछिको ठूलो संख्या चिनियाँको छ। चिनियाँको संख्या ९ हजार १ सय ८० रहेको छ। सन् २०२४ को जनवरी महिनामा नेपालमा हवाईमार्गबाट मात्र ७९ हजार १ सय जना विदेशी पर्यटक भित्रिएका थिए। त्यस्तै २०२४ को फेब्रुअरीमा नेपालमा ९७ हजार ४ सय २६ जना विदेशी पाहुना हवाई माध्यमबाट आएका थिए।  

प्रकाशित: १९ चैत्र २०८० १३:२९ सोमबार

पर्यटक आगमन मार्च महिना