अर्थ

सुनको मूल्य अहिलेसम्मकै उच्च,तोलाकै १ लाख ३० हजार

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सयले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार झनै वृद्धि भएको हो।

बिहीबार प्रतितोला एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन शुक्रबारका लागि एक लाख ३० हजार निर्धारण गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्य समेत वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय २५ पुगेको छ।  

सुनको मूल्य बढ्दा नेपाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्छ । अन्तर्राष्ट्रिय रूपमा नै सुनको मूल्य बढेकाले सुन व्यवसायीको कारोबार समेत ठप्प छ । सुनको मूल्य बढेकाले उपभोक्ताको आकर्षण र खरिद बिक्री पनि घटेको महासंघका अध्यक्ष मणिकरत्न शाक्यले नागरिक न्युजलाई बताए ।

‘मूल्य दिनानुदिन बढिरहेको छ । किनबेच ठप्प छ । दिनभरि पसल खोल्यो । कारोबार छैन ।’ उनले बताए । सुनको मूल्य अन्तर्राष्ट्रिय रूपमा नै बढेकाले त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्र र बजार मूल्यमा परिरहेको छ ।

प्रकाशित: १६ चैत्र २०८० ११:४३ शुक्रबार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सुन