अर्थ

दाना उत्पादनमा नयाँ नयाँ प्रविधि

बनेपा – सन् १९८० को दशकमा नेपालमा कुखुरापालन व्यवसाय भर्खरै बामे सर्दै थियो। त्यतिखेर साढे तीन किलो दाना खुवाउँदा ब्रोइलर कुखुराको तौल एक किलो हुन्थ्यो, त्यो पनि कम्तीमा ७० दिन पालेपछि मात्रै।

तर, अहिले परिस्थिति ठ्याक्कै फेरिएको छ, १६ सय ग्रामदेखि दुई किलो दाना खुवाउँदा ब्रोइलरको तौल एक किलो आउनेमात्रै नभई पाल्नुपर्ने अवधि समेत घटेर ३६ देखि ३८ दिनसम्म हुन थालेको छ।

पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईले माथिको तथ्यांक प्रस्तुत गरिरहँदा नेपाल दाना उद्योग संघको १७औं वार्षिक साधारणसभाका अतिथिलगायत दाना उद्योगीहरुमा बेग्लै खाले खुसी देखिन्थ्यो। खुसी नहुनु पनि किन? नेपालको पोल्ट्रीक्षेत्रलाई एसियाली मापदण्डमा पु-याउन लगानी थप्ने र प्रविधि भित्र्याउनमा तल्लीन उद्यमीहरुले दुई दशकको अवधिमा हासिल गरेको यो प्रगति उदाहरणीय रह्यो।

‘पोल्ट्री व्यवसायमा सबैभन्दा मुख्य तत्व भनेकै कुखुराको दाना हो। दानाको उत्पादन प्रविधिमा आएको विकाससँगै एफसिआर (दाना खुवाएको अनुपातमा कुखुरामा आउने तौलको दर) मात्रै नभई अण्डा उत्पादनमा समेत उल्लेख्य प्रगति हुन थालेको छ। यसबाट मुलुकलाई अण्डा र मासुमा आत्मनिर्भर बनाउन मद्दत मिल्दैछ,’ भट्टराईले भने। हाल नेपालमा प्रति व्यक्ति प्रति वर्ष पाँच किलो तीन सय ग्राम मासु र साढे ५० वटा अण्डा उपलब्धता रहेको छ।
 
उनका अनुसार विगत तीन वर्षमा ब्रोइलर (मासुका लागि) र लेयर्स (अण्डाका लागि) पाल्ने व्यावसायिक किसानहरुसँगै चल्ला तथा दानाको खपत बढेको मात्रै नभई कुखुराको उत्पादनसमेत बढेको छ।

‘आर्थिक वर्ष ०७३÷७४ मा मासु उत्पादन डेढ लाख मेट्रिक टन र अण्डा एक अर्ब ४१ करोड गोटा उत्पादन भयो । यसका लागि कुखुराले सात लाख ५३ हजार मेट्रिक टन दाना खाएको छ। यो अघिल्लो आर्थिक वर्षभन्दा २४ हजार मेट्रिक टन बढी हो,’ भट्टराईले थपे।

नेपाल दाना उद्योग संघका अनुसार हाल नेपालमा एक सय चार वटा दाना उद्योग सञ्चालनमा रहेको छ। यीनमा कुखुरालगायत गाईभैंसी र बंगुरका दाना उत्पादन गर्ने उद्योगहरुसमेत रहेका छन्। कुखुरापालन व्यावसायिक बन्ने क्रमसँगै कम दाना खाएर बढी तौल र कम अवधिमै हुर्कने पोषण तत्वयुक्त दाना उत्पादक पेलेट फिडहरुमासमेत लगानी थपिँदो छ। 

‘केही वर्ष अघिसम्म औंलामा गन्न सकिने पेलेट फिडहरु थिए। पोल्ट्रीमा व्यवसायिक किसानको आकर्षण बढ्ने क्रमसँगै हाल ५० वटाको हाराहारीमा यस्ता पेलेट फिडहरु सञ्चालनमा छन्। यसो हुनुमा दाना उद्योगले भित्र्याएको नयाँ प्रविधिका साथै कच्चा सामग्री गुणस्तरीय हुँदा छिटो प्रतिफल आएसँगै पेलेटप्रति किसानको रुचि बढेकाले हो,’ नेपालमै पहिलो पटक पेलेट दाना उत्पादन गर्ने निम्बस ग्रुपअन्तर्गत प्रो–बायोटिक इन्डस्ट्रिज प्रालिका प्राविधिक निर्देशक डा. दिनेशकुमार गौतमले भने।

निम्बस समूहको पेलेट उत्पादनसँगै यसको असीमित बजार र किसानको रुचि देखेर ठूला घराना, कच्चा सामग्रीको कारोबार गर्ने, घरेलु प्रविधिबाट दाना उत्पादन गर्नेदेखि व्यावसायिक कुखुरापालक, ह्याचरी उद्यमी र फ्रेस हाउस सञ्चालकसमेत पेलेट फिडमा लगानी गर्न हौसिएका हुन्। यस्तै, चिनियाँ प्राविधिक सहयोग र प्रत्यक्ष लगानीका पेलेट फिडसमेत सञ्चालनमा छन्। संघले साधारण सभामा प्रस्तुत गरेको तथ्यांकले समेत दैनिक दुई हजार सात सय मेट्रिक दाना उत्पादन भइरहेको देखाउँछ। यही हिसाबले पनि दैनिक १५ करोड रुपैयाँको हाराहारीमा दानाको कारोबार भइरहेको पाइन्छ।

‘पोल्ट्री व्यवसायको मुख्य शृंखला मानिएको ह्याचरी, दाना, किसान, फ्रेस हाउस, स्लटर हाउस, औषधि विक्रेता, अण्डा क्रेट र बाकस बनाउनेलगायतमा प्रत्यक्ष रुपमा डेढ लाखले र अप्रत्यक्ष रुपमा दुई लाख व्यक्तिले रोजगारी पाएका छन्। निजीक्षेको ८० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको यस पोल्ट्री क्षेत्रले मुलुकको कूल ग्राहस्थ उत्पादनमा करिब चार प्रतिशतले योगदान गरेको छ,’ संघका निवर्तमान अध्यक्ष नारायणहरि खत्रीले जानकारी दिए।

दानाको कच्चा सामग्रीमा परनिर्भरता बढ्दो
नेपाली पोल्ट्री व्यवसायबाट मासु र अण्डामा आगामी वर्षमा मुलुकमा आत्मनिर्भरता प्राप्त हुने लक्ष्य सरकार र पोल्ट्री उद्यमीले लिएका छन्। तर, यो व्यवसायको प्रमुख तत्व रहेको दाना उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थ पहेंलो मकै, भटमासको पीना, तिलको पीना, सूर्यमुखीको पीना र फिड एडिटिभका लागि भारतलगायत तेस्रो मुलुकमा परनिर्भर हुँदै आउनु परेको छ।

‘दानामा खपत हुने मुख्य कच्चा पदार्थ मकैमा ७० प्रतिशत तथा भटमासको पीनामा शतप्रतिशत नै विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ। विगतमा सरकारले ल्याएको मिसन मेज कार्यक्रमबाट मकैको परनिर्भरता कम हुने अपेक्षा गरिएको थियो। त्यो कार्यक्रम नै बन्द हुँदा परनिर्भरता झन बढ्दो छ,’ संघका नवनिर्वाचित अध्यक्ष रबिन पुरीले भने।

पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईको अध्ययनमा आव ०७३÷७४ मा नेपालका दाना उद्योगले चार लाख ८३ हजार पाँच सय नौ मेट्रिक टन पहेंलो मकै आयात गरेका थिए। त्यस्तै, भटमासको पीना एक लाख ८१ हजार आठ सय ८२ मेट्रिक टन, तिलको पीना २१ हजार दुई सय ७५ मेट्रिक टन र सूर्यमुखीको पीना २६ हजार ७१ मेट्रिक टन भारतलगायत तेस्रो मुलुकबाट आयात गरेका थिए।

‘यी मुख्य कच्चा सामग्री र फिड एडिटिभहरुको आयातमा नेपालको १६ अर्ब रुपैयाँ विदेशिएको छ। सरकारले आर्थिक समृद्धिको नारा अघि सारेको सन्दर्भमा मकै र भटमासको खेतीमा व्यापकता ल्याउन सकिएमा रोजगारीका साथै दाना उद्योगबाट मकै र भटमासको पीनाका लागि विदेशिने अर्बौं रुपैयाँ जोगाउन सकिन्थ्यो,’ भट्टराईले सुझाए।

दानामा एन्टिबायोटिक्सको प्रयोग छैन
छोटो अविधमै कम दाना खाएर ब्रोइलरमा बढी तौल आउन थालेपछि अनुसन्धानकर्ता र उपभोक्तावादीले कुखुराको दानामै एन्टिबायोटिक ग्रोथ प्रमोटर (एजिपी) हालिएको हुन सक्ने आशंका गर्दै आएका छन्। तर, भेटेरिनरियनहरु दानामा हालसम्म एजिपी हालिएको अवस्था नरहेको बताउँछन्। 

‘पछिल्लो समय नन एन्टिबायोटिक ग्रोथ प्रमोटर (नन एजिपी) को प्रयोग हुन थालेको छ। प्रो–बायोटिकको प्रयोगमा बढावा दिन थालिएको छ। तर, रोगव्याधि हुँदा किसानले उपचारका रुपमा ब्रोइलरलाई एन्टिबायोटिक्स खुवाए पनि दानामै निरन्तर एजिपी मिसाएर उत्पादन नभएको अवस्था छ। यो तथ्यलाई हामीले दाना उद्योगमा नियमित गर्दै आएको निरीक्षण र अनुगमनले समेत पुष्टि गरेको छ,’ पशु सेवा विभागका महानिर्देशक डा. बिमलकुमार निर्मलले भने।

प्रकाशित: ४ चैत्र २०७४ ०३:५५ आइतबार