अर्थ

बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति

बेमौसमी वर्षाले रौतहटको इँटा उद्योगमा करोडौँको क्षति पुर्‍याएको छ। मंगलवार रातिदेखि बिहीवार बिहानसम्म परेको पानीले रौतहटको इँटा उद्योगमा करोडौँको क्षति पुर्‍याएको जानकारी व्यवसायीहरूले गराएका छन्।

वर्षाले गर्दा काँचो इँटा गलेको तथा पोल्नलाई ठिक्क पारिएको इँटामा पनि व्यापक क्षति पुगेको इँटा उद्योग तथा व्यवसायी संघ रौतहटले जनाएको छ। संघका अध्यक्ष रामविनोद साहले रौतहटको इटा उद्योगमा करिब ६ करोड बराबरको क्षति भएको दाबी गरेका छन्।

एउटा इँटा उद्योगमा पोल्नलाई ठीक पारिएको करिब १२ लाखको इँटामा क्षति पुगेको व्यवसायीको दाबी छ।

बिमा नहुने तथा सरकारले कुनै सुविधा नै नदिने इँटा उद्योगहरूमा बेमौसमी वर्षाले निकै ठूलो क्षति पुर्‍याएपछि इँटा व्यवसायीहरूले ढाड नै भाँच्चिएको बताइरहेका छन्। रौतहटको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई करिब ५० इँटा उद्योग सञ्चालनमा रहेका छन्। 

प्रकाशित: १२ चैत्र २०८० ०७:०१ सोमबार

बेमौसमी वर्षा इँटा उद्योगमा करोडौँको क्षति