अर्थ

जुनारबाट सिन्धुलीमा ५० करोड आम्दानी

बिपी राजमार्गस्थित सिन्धुलीगढी गेटनजिकै सडक किनारमा बसेर जुनार बेच्दै व्यापारी। तस्बिर : नागरिक

सिन्धुलीमा यस वर्ष ५० करोड रूपैयाँ बढीको जुनार उत्पादन भएको छ। जुनारको मुख्य उत्पादन हुने जिल्लाका रूपमा परिचय बनाएको सिन्धुलीले ५० करोड बढीको जुनार कारोबार गरेको हो।

यस वर्ष गत वर्षको तुलनामा जुनार उत्पादनमा वृद्धि भएकाले जुनारको कारोबार बढेको छ। जिल्लाको गोलञ्जोर गाँउपालिका, सुनकोसी गाउँपालिका, तीनपाटन गाँउपालिका र कमलामाई नगरपालिकाका केही वडामा व्यावसायिक रूपमा जुनार खेती हुँदै आएको छ।

चारवटा पालिकाका विभिन्न वडामा गरी सात सय ५० हेक्टर जमिनमा ९ हजार ९ सय मेट्रिकटन जुनार उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सिन्धुलीले जनाएको छ।

कार्यालय प्रमुख यामकुमार श्रेष्ठका अनुसार जिल्लामा जुनारबाट ५० करोड बढीको कारोवार भएको देखिएको छ। जसमध्ये ३३ करोड, २१ लाख ३५ हजार बराबर किसानले आम्दानी गरेका छन् भने १५ करोड बढी व्यापारीले कमाएको तथ्यांकले देखाएको छ।

मंसिरको दोस्रो हप्तादेखि बजारमा आएको जुनार हालसम्म सबै बिक्री भइसकेको कार्यालयले जनाएको छ। जुनारको दररेट समयअनुसार फेरबदल भए पनि औसतमा किसानले बोटबाटै ५५ रूपैयाँ प्रतिकेजीमा बिक्री गरेका छन्।

बिपी राजमार्ग निर्माण भएसँगै सोही राजमार्गसँग जोडेर जुनार क्षेत्रमा जाने सडक खुलेसँगै त्यस क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत जुनार बनेको छ। व्यावसायिक रूपमा खेती गर्दै आएका किसानले प्रत्येक वर्ष दशदेखि २० लाख रूपैयाँसम्म एकै किसानले आम्दानी लिदै आएका छन्।

बिपी राजमार्ग निर्माण भएपछि पूर्वीतराईसहित काठमाडौंलगायतका स्थानमा जुनार कोसेलीका रूपमा लैजाने क्रम बढेपछि सिजनको सुरुवातमै जुनारको कारोबार राम्रो हुने गरेको किसानहरु बताउँछन्। जिल्लामा जुनार खेतीलाई थप विस्तार गर्न सके किसानको आयस्रोत बढ्ने निश्चित छ।

गोलञ्जोर गाउँपालिकास्थित तीनकन्याको माझ कुभिन्डे क्षेत्रमा जुनार जिल्लाकै सबैभन्दा बढी उत्पादन हुने क्षेत्रका रूपमा परिचित छ। बिपी राजमार्ग निर्माण भएसँगै सोही राजमार्गसँग जोडेर जुनार क्षेत्रमा जाने सडक खुलेसँगै जुनार किसानको राम्रो आम्दानीको स्रोत जुनार बनेको छ।

व्यावसायिक रूपमा खेती गर्दै आएका किसानले प्रत्येक वर्ष दशदेखि २० लाख रूपैयाँसम्म एकै किसानले आम्दानी लिँदै आएका छन्। बिपी राजमार्गका ठाउँठाउँमा जुनारका स्टल राखेर व्यापारीले जुनार बिक्री गर्ने गरेका छन्।

‘कोदो र मकैको तुलनामा जुनार खेतीबाट निकै राम्रो आम्दानी हुन्छ’, कमलामाई नगरपालिका ३ का जुनार किसान जुद्ध राईले भने, ‘वर्षको करिब १० देखि १२ लाखसम्म आम्दानी लिँदै आएको छु।’

सोही स्थानकी लक्ष्मी राई जुनारको आम्दानीले आयस्रोत बढ्दै गएको बताउँछिन्। ‘जुनार बेचेर छोराछोरी पढाउन सहज भएको छ। दैनिक घर खर्च अन्य आम्दानी नहुँदा पनि सहजै चलेको छ’, उनले भनिन्, ‘सुरुवाती चरणमा थोरै लगाएका थियौं, तर आम्दानी राम्रो हुने देखिएपछि जुनारका बिरुवा थपेर बगैंचामा पाँच सय बढी बोटले फल दिन थालेको छ।

प्रकाशित: ९ चैत्र २०८० १३:४३ शुक्रबार

सिन्धुलीमा जुनार उत्पादन कारोबार वृद्धि उत्पादन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ सिन्धुली