अर्थ

राेजगारी र लगानीमा एनआरएनएको जाेड

गैरआवासीय नेपाली संघले रोजगारी र लगानीमा एनआरएनएको जोड दिएको छ। ‘वंशज नागरिकताको निरन्तरता नै हाम्रो आवश्यकता’ भन्ने नारासहित आयोजना गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को वार्षिक साधारणसभामा सहभागीहरुले रोजगारी र लगानीमा जोड दिएका हुन्।

संघका संरक्षक डा शेष घलेले  भने, ‘हामीलाई स्वागत चाहिँदैन, विदेशमा कमाएका पैसा नेपालमै लगानी गरी मुलुकमा समृद्धि भित्र्याउने वातावरण बनाइदिनुस्। दिनदिनै युवा पलायन बढिरहेको छ। यसलाई रोक्नका लागि पनि रोजगारी सिर्जना गर्न लगानी भित्र्याउन चाहन्छौं। त्यसका लागि सहज वातावरण निर्माण गरिदिनुस्।’

घलेले नेपाल र नेपालीका लागि अझै धेरै गर्न बाँकी रहेकाले सबै गैरआवासीय नेपाली एकजुट हुनुपर्ने बताए। उनले भने, ‘लगानीलगायतका विषयमा सजिलोका लागि नागरिकताको विषयलाई उठाउँदै आएका छौँ, सरकारले नागरिकता प्रदान गरे पनि गैरआवसीय नागरिकताले केही अप्ठ्यारा फुकाउन सकेको छैन।’ उनले नागरिकतालाई नागरिकतामै सीमित गर्न नहुनेसमेत बताए।

संघका आईसीसी अध्यक्ष विनोद कुँवरले विधिलाई संस्थागत गरेर अगाडि बढ्दा संस्थाको उद्देश्य पूरा गर्न सकिने बताए। उनले भने, ‘यसअघि संघलाई मनखुसी चलाउन खोज्दा केही समस्या आएकाले हामीले संस्थालाई विधिवत् रुपमा लैजान खोजेका हौं।’

साधारणसभामा मोनोरेलसहित तीनवटा विषयमा सम्झौता भएको छ। सम्झौताअनुसार काठमाडौँको तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना, भूकम्पबाट क्षतिग्रस्त जाजरकोटको भेरी नगरपालिका तथा पश्चिम रुकुमको आठबिस नगरिपालिकामा पुनर्निर्माण र कोरियन कस्मेटिक उत्पादन नेपालमै रहेका छन्। साधारणसभामा ४२ देशका प्रतिनिधिको सहभागिता थियो।

प्रकाशित: ५ चैत्र २०८० १०:०८ सोमबार

गैरआवासीय नेपाली संघ वार्षिक साधारणसभा डा. शेष घले लगानी राेजगारी