अर्थ

पोखराका पर्यटन व्यावसायी भन्छन्ः अर्थतन्त्र शिथिल भयो

पर्यटन व्यवसायीले अर्थतन्त्र शिथिल बन्दै गएको भन्दै चिन्ता जनाएका छन्। पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्दै पर्यटन व्यवसायीले व्यवसायीलाई सक्रिय बनाउने गरि उत्प्रेरणा आवश्यक रहेको बताए। त्यसका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नका लागि समय आवश्यक रहेको उनीहरूको भनाई छ।  

पोखरा पर्यटन परिषद् (पिटिसी)को अगुवाइमा प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीले पर्यटकीय सहर भएकोले पोखरासम्मको पहुँचलाई सहज बनाउन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि पहल गरिदिन पनि अनुरोध गरे।  

‘पोखरा जोडने मुख्य राजमार्गको अवस्था विकराल छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन सकिरहेका छैनन्,’ व्यवसायीले भनेका छन्, ‘त्यसबाहेक पर्यटन क्षेत्रले हरेक वर्ष एकपछि अर्को संकटको सामना गर्नुपरेको छ।’  

परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले बुझाएको ज्ञापन पत्रमा समग्र अर्थतन्त्रमा शिथिलता पैदा हुँदा निजी क्षेत्र, व्यापार, व्यवसाय, उद्योग कलकारखानामा संकट देखा पर्न थालेको उल्लेख गरेका छन्। ‘व्यवसाय ओरालो लागेसँगै बैंक तथा वित्तीय संस्थामा पनि संकट देखिन थालेको छ। व्यावसाय घट्दै जाँदा बैंक नै सशङ्कित हुन थाले र व्यवसायीलाई दिएको ताकेताले मनोवैज्ञानिक असर देखिएकै छ,’ उनले भने, ‘लगानी नै सङ्कटमा छ, रोजगारी पनि दिनानुदिन घट्दो छ। त्यसैले व्यवसायीलाई ऋण तिर्न सक्ने समय र उत्प्रेरणा चाहिएको छ।’

व्यवसायीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै यसको विकास र प्रचार प्रसारका लागि नियमित बजेट विनियोजन गर्न पनि प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्। त्यस्तै पर्यटन बोर्डमा पोखराको प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरेका छन्। पोखरा–मुग्लिन सडक खण्डको बिस्तार तोकिएकै समयमा सम्पन्न गर्न साथै पोखरा–सुनौली राजमार्ग स्तरोन्तीको पनि व्यवसायीले माग गरेका छन्। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्सबाटै सुरु गर्नुपर्ने र अन्य एयरलाइन्सलाई पनि सुविधा सहित आकर्षक प्याकेज दिई प्रोत्साहन गर्न माग पनि व्यावसायीको माग छ।

प्रकाशित: ४ चैत्र २०८० १५:२४ आइतबार

पर्यटन व्यावसायी पोखरा