अर्थ

अर्थमन्त्रीसँग एडिबीका नेपाल प्रतिनिधिको भेटवार्ता

एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डायरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन्। कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे।

भेटमा उनले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण भत्किएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः डिजाइनको काम करिब अन्तिम चरणमा पुगेको जानकारी दिए।

यस्तै उनले मन्त्री पुनले विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलाशययुक्त दुधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरूण जलविद्युत् आयोजनाको काम थाल्ने वातावरण बनाउने विश्वास व्यक्त गरे।

जवाफमा मन्त्री पुनले प्रमुख विकास साझेदार एडिबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा व्यक्त गरे। आफू ऊर्जामन्त्री भएका बेला अघि बढेका दुधकोसी र माथिल्लो अरूण जलविद्युत् आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता उनले जनाए।

२० वर्षपछि विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगानी साझेदारी गर्ने गरी काम गर्न थालेकामा मन्त्री पुनले खुसी व्यक्त गरे। ‘दुधकोसी जलाशययुक्त र माथिल्लो अरूण नदी प्रवाहमा आधारित ठूला आयोजनामध्येका हुन्। म ऊर्जामन्त्री छँदा सुरु भएका यी आयोजनालाई प्राथमिकतामा राखेकामा एडिबीलाई धन्यवाद दिन चाहन्छु।’

पुनले नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको भन्दै त्यसमा सुधार गर्न खर्च गर्ने क्षमता र विकास खर्च गर्न सक्ने जनशक्ति विकास गर्ने गरी कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिए।

यस्तै मन्त्री पुनले युवा वर्ग लक्षित रोजगारीका कार्यक्रम तथा निजी क्षेत्र र आमजनतामा आशा जगाउने गरी काम गर्ने उल्लेख गरे। मन्त्री पुनले नेपालमा लगानी बढाउन पनि एडिबीलाई आग्रह गरे।

प्रकाशित: ३० फाल्गुन २०८० ०९:१६ बुधबार

अर्थमन्त्री वर्षमान पुन एसियाली विकास बैंक कन्ट्री डायरेक्टर आर्नो कोशवा साझेदारी मजबुत