अर्थ

महासंघको अगुवाइमा १० अर्बको लगानी कम्पनी स्थापना हुने

फाइल तस्वीर

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा सो जानकारी दिएका हुन्।

अध्यक्ष ढकालका अनुसार कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र त्यसरी संकलित रकम विभिन्न परियोजनामा लगानी गरिनेछ। कम्पनीको अधिकृत पुँजी दश अर्ब रूपैयाँ हुनेछ। यसमा महासंघका सदस्य बाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताए।

कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि बताए। राजनीतिक दलहरूको आर्थिक विषयमा एकै एजेण्डा हुन नसक्दा समन्यव र सुधार नभएको बताउँदै अध्यक्ष ढकालले महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरूको ऐक्यवद्धता खोजिने जानकारी पनि गराए।

महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहद् आर्थिक बहस यसको कोसेढुंगा भएको जानकारी दिए। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताए। ‘अझै हामीले प्रयास गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ।

प्रकाशित: २९ फाल्गुन २०८० ११:५९ मंगलबार

नेपाल उद्योग वाणिज्य महासंघ १० अर्बको लगानी कम्पनी स्थापना हुने