अर्थ

विदेशी विनिमय सञ्चिति साढे १८ खर्ब पुग्यो

मुलुकमा विदेशी विनियम सञ्चितिमा उल्लेख्य सुधार भएर करिब साढे १८ खर्ब रुपैयाँ पुगेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा विदेशी मुद्रा १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ। विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। 

चालु आवको सात महिनामा विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढेको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। आयात आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात धान्न सक्ने अवस्थामा छ। 

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति रहेकोमा माघ मसान्तमा आउँदा करिब २० प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। गत असारमा अमेरिकी डलरमा ११ अर्ब ७१ करोड रहेकोमा माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड डलर पुगेको छ । मुलुकको वैदेशिक व्यापारमा गिरावटसँगै आयात कम भए पनि सञ्चिति बढेको हो।

प्रकाशित: २७ फाल्गुन २०८० १६:१० आइतबार

विदेशी विनिमय सञ्चिति नेपाल राष्ट्र बैंक