अर्थ

चिनी उद्योगलाई उखु अभाव

फाइल।

रौतहट र सर्लाहीका चिनी उद्योगलाई उखुको अभाव भएको छ। उखु किसानले खेती गर्न छाडेपछि उद्योगहरूले उखु पाउन छाडेका छन्।

चिनी उद्योगका सञ्चालकहरूले मुख्य सिजनमै उखुको अभाव भएको बताए। रौतहटको कटहरियामा सञ्चालित बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रीका संचालक बैजु बाबराले मुख्य सिजनमा उखुको अभाव भइरहेको सुनाए।

सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले गत सातादेखि नै उद्योगलाई आवश्यक मात्रामा उखु प्राप्त नभएको बताए। उखु अभावमा उधोग बन्द गर्दै संचालन गर्ने चक्र चलिरहेको उनी बताउँछन्।

सर्लाहीकै धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले पनि किसानलाई पर्खेर उद्योग बन्द गर्ने र संचालन गर्ने गरिरहेको छ। उखुको अभाव भएपछि उद्योग संचालनमा समस्या भएको उद्योगका संचालक शैलेन्द्र गुप्ता बताउँछन्। गुप्ता भन्छन् ‘किसानलाई पर्खेर उखु ल्याएपछि उद्योग संचालन गर्छौँ र उखु आउन छाडेपछि किसानको प्रतीक्षा गर्छौँँ।’

बाबा बैजुनाथ, इन्दु शंकर र अन्नपूर्ण चिनी उद्योगहरूले किसानले जहिलेसम्म उखु पुर्‍याउँछन् तबसम्म उद्योग संचालन गर्ने रणनीति अपनाएको देखिएको छ। 

रौतहट र सर्लाहीका तीन उद्योग जेनतेन संचालनमा रहेका भए पनि सर्लाहीकै गोडैताको बगदहमा रहेको महालक्ष्मी चिनी उद्योग भने बन्द भएको छ। महालक्ष्मीले १२ लाख ३९ हजार क्विन्टल उखु क्रसिङ गरेर यस वर्षको लागि बन्द गरिएको उद्योगका उखु प्रबन्धक पवन सिंहले जानकारी दिए।

प्रकाशित: २६ फाल्गुन २०८० १९:५० शनिबार