अर्थ

पुन समुदायको संग्रहालयमा पर्यटकको आकर्षण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ मा अवस्थित धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सञ्चालनमा आएको संग्रहालय पर्यटक आकर्षणको केन्द्र बनेको छ।

करबाकेली ‘ट्र्याक’ हुँदै भ्रमणमा आउने पर्यटकका लागि प्राकृतिक सौन्दर्यसँगै ‘पुन समुदायको संग्रहालय’ मुख्य आकर्षणको केन्द्र बनेको हो। करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा निर्माण गरिएको पहिचान झल्काउने संग्र्रहालयमा दैनिक रुपमा भ्रमणमा आउने पर्यटकले रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथान संरक्षण समितिका सचिव रवि गर्वुजाले बताए।

‘धौलागिरि र अन्नपूर्ण हिमशृंखलाका दर्जन बढी हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न पाउने यहाँको प्रमुख विशेषता हो, संग्रहालय सञ्चालनमा आएपछि पर्यटकका लागि थप आकर्षण बनेको छ’, उनले भने।

मौलिकता झल्कने गरी करिब ८५ लाखमा निर्माण भएको यो संग्रहालय बनाउन गाउँपालिकाले सात लाख र प्रदेश सरकारले पाँच लाख बजेट उपलब्ध गराए पनि अन्य सबै बजेट सहयोगमार्फत जुटाइएको थियो। दुईतला भएको संग्रहालयमा समुदायका कला, संस्कृति, परम्परा, रहनसहन, जीवनशैली, पहिचान झल्कने सामग्री संकलन गरेर राखिएका छन्।

यहाँ आउने सबै पर्यटकले संग्रहालयमा राखिएका सामानलाई रुचिका साथ अवलोकन गर्ने गरेको करबाकेलीथानका कर्मचारी चन्द्रबहादुर पुनले बताए। उनका अनुसार यस संग्रहालयमा पर्यटकका लागि एक सय ५० र स्थानीयका लागि ५० प्रवेश शुल्क लिने गरिएको छ। विद्यार्थी, बालबालिका, वृद्धवृद्धा र पत्रकारका लागि भने निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ।

संग्रहालयमा राखिएका परम्परागत पानी घट्ट, कोल, डोको, ढिक्की, जाँतो, मौलिक पहिचान झल्कने पोसाक, हातहतियार, भाँडा, गहनालगायत सामग्रीले पर्यटक आकर्षित हुने गरेका छन्। संग्रहालयमा राखिएका सामग्रीले परम्परागत समाजको मौलिक कला, संस्कृति, परम्परा, रहनसहन र जनजीवनको झल्को दिने तथा अध्ययनस्थलका रुपमा लिन सकिने बेनीबाट पहिलोपटक करबाकेली पुगेका रमेश शर्माले बताए।

ढुंगा, माटो, चुन, सिमेन्ट, बालुवा र काठ प्रयोग गरेर मौलिकता झल्कने आकर्षक दुईतले संग्रहालय भवन निर्माण भएको छ। करबाकेलीथान परिसरमा निर्माण भएको संग्रहालयले परम्परागत र हराएर जाने अवस्थामा पुगेका सामग्रीको संरक्षणमा सहयोग पुगेको अन्नपूर्ण– ८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए।  –रासस

प्रकाशित: २३ फाल्गुन २०८० १६:१० बुधबार

पर्यटक आकर्षणको केन्द्र पुन समुदायको संग्रहालय करबाकेली बाबा संरक्षण समिति