अर्थ

कृषकलाई हाते ट्याक्टर

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका भित्र रहेका २० वटा सहकारी तथा कृषक समूहहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ। 

सामुदायिक विकास केन्द्र नेपाल (सिडिसि), संघिय राष्ट्रसंघिय विकास कार्यक्रम (युएन्डिपि) र गाउँपालिकाको कार्यलयको ५० प्रतिसत अनुदानमा प्रति सहकारी एक थानको दरले हाते ट्याक्टर वितरण गरिएको हो। परम्परागत कृषि प्रणालीबाट जिविकोपार्जन गर्न कठिनाई भइरहेको अवस्थामा कृषिलाई आधुनिकिकरण गर्न वितरण गरिएको हाते ट्याक्टरले सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताएका छन्। 

‘विस्तारै गाउँघरमा गोरु पाल्ने चलन हट्दै गएको र गोरुले जोत्दा धेरै समयमा थोरै काम हुने हुँदा खेतीबाट खर्च पनि उठ्न गाह्रो पर्छ। यस कारण पनि युवाहरु आम्दानी खोज्दै विदेसिन बाध्य छन्,’ अध्यक्ष थापाले भने, ‘आर्थिक उपार्जन गर्न गाउँपालिका र सामाजिक संस्थाहरुले बाटो देखाउने हो। हामीले देखाएको बाटोमा कृषहरुले निरन्तर हिड्न जान्यो भने आफ्नै खेतवारीमा मासिक रुपमा नै लाखौ आम्दानी गर्न सक्छन्।’

ट्याक्टरको सहायताले खेतबारी खन्न सजिलो हुने भए पछि शिवपुरीमा रहेको सहकारी तथा कृषक समूहमा आवद्ध किसानहरु खुसी भएको घ्याम्पेश्वरी आधारभूत विद्यालयका शिक्षक पशुपती पाण्डेले जानकारी दिएका छन्।

प्रकाशित: १ चैत्र २०७४ १२:४८ बिहीबार