अर्थ

मापदण्ड विपरितका बालुवा प्रशोधन उद्योग सञ्चालनमा रोक

नुवाकोट- मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका नुवाकोटको बालुवा प्रशोधन उद्योगहरु सञ्चालनमा रोक लगाएको छ। जिल्ला अनुगमन समितिले बेलकोटगढी नगरपालिका भित्र रहेका बालुवा प्रशोधन उद्योगहरुको अनुगमन गर्दा मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएकोले उद्योग विकास शाखाले पत्र काटेर उद्योगहरु बन्द गर्न निर्देशन दिइएको जनाएको छ।

बेलकोटगढी नगरपालिकाको वडा नम्बर ५, ७ र ८ भित्र सञ्चालित ४७ वटा उद्योगहरुको अनुगमनको क्रममा  सबै   तोकिएको मापदण्ड भित्र नपरेकोले सञ्चालकलाई पत्र काटेर बन्द गर्न निर्देशन दिइएको उद्योग विकास शाखाका निमित्त निर्देशक बिजय भट्टराईले बताए। “घरेलुले उद्योगहरुले दर्ता मात्र गर्ने तर नियममा रहेर काम भएको छ छैन भनेर अनुगमन गर्दैन भन्ने गुनासो चौतर्फि भइरहेको छ । त्यसलाइृ नै मध्यनजर गरेर त्रिशुली खोलामा सञ्चालित बालुवा प्रशोधन उद्योगहरुको अनुगमनमा जुटेका छौँ,” भट्टराईले भने, “बेलकोटगढी नगरपालिका भित्र सञ्चालित उद्योगहरुले न्युनतम मापदण्ड पनि पूरा नगरेको पाइयो। बालुवा प्रशोधनपछि तीनतहमा हुने पानी शुद्धिकरण गर्ने पोखरी पनि बनाएका छैनन् । बालुवा पखालिएका फोहोर पानी सिधै नदीमा मिसाइएको छ । जस्ले गर्दा त्रिशुली नदीको सौन्दर्यतामा ह्रास आइरहेको छ।”

कोल्पुटारदेखि देवीघाटसम्म त्रिशूली नदी किनारामा रहेका फिरेफिरेको अनुगमनमा सबै मापदण्ड विपरित पाइएकाले बन्द गराउन उद्योग शाखा मार्फत कारबाही सुरु गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताएका छन्। सञ्चालित फिरेफिरेले नदी प्रदुषण गर्दै  आइरहेको र बारम्बार सचेत गराउदा समेत अटेर गरेकाले बन्द गराउन बाध्य भएको यादवको भनाई छ। “अनुगमनको क्रममा ४७ वटा फिरफिरे मध्ये १६ वटा उद्योगले अनुमति नै लिएको रहेनछ । अनुगमनको क्रममा धादिङ जिल्लामा पर्ने खानी देखाएर नुवाकोटमा दर्ता भएको पाइयो,” यादवले भने, “दर्ता नभइ सञ्चालन भएका उद्योगहरुलाई पूर्ण रुपमा सञ्चालनमा रोक लगाउछौँ। दर्ता भएको तर मापदण्ड पूरा नगरेको उद्योगलाई प्रक्रियामा नआउञ्जेलसम्म सञ्चालनमा आउन दिदैनौँ।”

नागरिकहरुले आवास निर्माणकोलागि सामाग्री पाइएन भन्ने गुनासो दिनानुदिन बढिरहेकोले स्थानीय तहका जनप्रतिनिधिहरुले सक्रिय रुपमा उद्योगहरुलाई निगरानीमा राखेर सञ्चालनमा ल्याउन सकियो भने जनता पनि मारमा नपर्ने र नदिको पनि मुहार फेरिने प्रमुख जिल्ला अधिकारी यादवको भनाई छ। अनुगमनको क्रममा विकास निर्माणका कार्यलाई अघि बढाउन नदीजन्य सामाग्री अत्यावस्यक पर्ने भए पनि उद्योगीहरुले अबैध रुममा बालुवा उत्खनन् गरिरहेको पाइएको नुवाकोट प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बसन्त कुंवरले जानकारी दिएका छन्। अधिकारसँगै कर्तव्य पूरा गरेर मात्र नदीजन्य सामाग्रीहरु उत्खनन् गर्न उद्योगहरुलाई आग्रह गर्दै कुंवरले घरेलु, प्रशासन, प्रहरी र स्थानीय तह एकजुट भएर उद्योगहरुलाई व्यापारव्यवसाय गर्न लगाउदा समस्या नआउने बताएका छन्।

जिल्लाको विभिन्न नदीमा सञ्चालित बालुवा प्रशोधन उद्योग अर्थात फिरफिरेहरुको अनुगमन गर्दै नियमविपरित रुपमा सञ्चालितलाई कारवाही गर्ने कार्यलाई निरन्तरता दिने उद्योग विकास शाखाले जनाएको छ।

 

प्रकाशित: १ चैत्र २०७४ ०९:५४ बिहीबार