अर्थ

नर्थ क्यारोलिनाको पर्यटन प्रवर्द्धकमा विक्रम घिमिरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाको नर्थ क्यारोलिनाका लागि विक्रम घिमिरेलाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरेको छ। पर्यटन प्रवर्द्धकमा सक्रिय घिमिरेलाई गत फागुन १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट नर्थ क्यारोलिनाको पर्यटन प्रवर्द्धकमा नियुक्त गरिएको हो।  

घिमिरे दुईवर्षे कार्यकालका लागि नियुक्त भएका हुन्। पर्यटन मन्त्रालयले सद्भावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ। सरकारले विदेशमा पनि पर्यटन प्रवर्द्धनमा मुख्य भूमिका निर्वाह गर्ने बताइएको छ।  

घिमिरेसँगै सरकारले विभिन्न देशका विभिन्न सहरहरूमा २९ जना पर्यटन प्रवर्द्धकहरू नियुक्त गरेको छ। सरकारले नियुक्त गरेका पर्यटन प्रवर्द्धकहरू पहिलाका पर्यटन दूत जस्तै सम्मानित पद हो। सरकारले गत वर्षदेखि पर्यटन दूत नियुक्त गर्न छाडेको छ।

नवनियुक्त पर्यटन प्रवर्द्धक घिमिरेले अमेरिकाका लागि नेपालको पर्यटन प्रवर्धक पदमा नियुक्त भएकोमा सरकारप्रति आभार प्रकट गरेका छन्। घिमिरेले एनआरएनए अमेरिकाका विभिन्न पदमा रहेर सामाजिक काम गरिसकेका छन्। उनी यस अघि नै नर्थ क्यारोलिनाका लागि पर्यटन दूत भएर काम गरिसकेका युवा व्यक्ति हुन्।

प्रकाशित: २० फाल्गुन २०८० १०:०२ आइतबार

अमेरिकाको नर्थ क्यारोलिना विक्रम घिमिरे पर्यटन प्रवर्धक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सद्भावना दूत निर्देशिका २०७८