अर्थ

‘निर्माण व्यवसायी होइन सरकार नै जिम्मेवार’

नेपाल निर्माण व्यवसायी महासंघले नागरिक दैनिकमा बुधबार प्रकाशित ‘कामचोर ठेकेदार पोस्न खरिद नियमावली संशोधन’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकृष्ट भएको उल्लेख गरेको छ।

महासंघका महासचिव रोशन दाहालद्वारा प्रेषित पत्रमा पछिल्लो स्थितिमा बजेट अभाव, स्रोत सुनिश्चित नगरी ठेक्का लगाउने सरकारी परिपाटी, अत्यन्त अव्यवहारिक ऐन कानूनलगायतको कारणले निर्माण कार्यमा ढिलासुस्ती भएको दाबी गरिएको छ।

‘सरकारी समन्वय र निर्माण सामग्रीको अभाव, महँगी लगायत व्यवसायीहरूका काबु बाहिरका परिस्थितिका कारण अधिकांश निर्माण परियोजना समयमै पूरा हुन नसकेको वास्तविक तथ्य घाम जत्तिकै छर्लङ्ग रहेको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्वाधार विकासका कार्यमा हुने म्याद थप व्यवसायीका भन्दा पनि राज्यकै कारण हुने नियमित प्रक्रिया हो। अझ पछिल्लो पटक त देशको कमजोर आर्थिक अवस्थाका कारण राज्यबाटै अर्बौं भुक्तानी नहुँदा निर्माण व्यवसायीहरू आत्मदाह गर्ने परिस्थितिमा पुगेको खबर दिनहुँ सार्वजनिक हुँदासमेत त्यसतर्फ विलकुल ध्यान नदिइएको अवस्था रहेको छ।’

महासंघले निर्माण व्यवसायीलाई लान्छना लाग्ने खालका समाचार सम्प्रेषण नगर्न पनि अनुरोध गरेको छ।

प्रकाशित: १७ फाल्गुन २०८० ०९:५० बिहीबार

कामचोर ठेकेदार पोस्न खरिद नियमावली संशोधन नेपाल निर्माण व्यवसायी महासंघ