अर्थ

१५ अर्बको विद्युतीय गाडी भित्रिँदा साढे ६ अर्ब मात्र राजस्व

चालु आर्थिक वर्षको सात महिनामा १५ अर्ब रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन आयात हुँदा सरकारले साढे ६ अर्ब रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनासम्मको अवधिमा ६१ सय ५९ वटा चार पाङग्रे विद्युतीय सवारीसाधन आयात भएको थियो। जसबाट सरकारले ६ अर्ब ६२ करोड ८० लाख ३० हजार राजस्व संकलन गरेको हाे।

विभागका अनुसार नेपाल चार मोडलका विद्युतीय कार, जिप र भ्यान आयात हुने गरेका छन्। चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ५० किलोवाट क्षमतासम्मका २६ सय ७७ वटा विद्युतीय सवारीसाधन भित्रिएको थियो। 

सो मोडलका विद्युतीय सवारीसाधन खरिद गर्दा चार अर्ब ९६ करोड १८ लाख रुपैयाँ बराबरको रकम बाहिरिएको थियो। तर, सरकारले ती सवारीसाधन आयात गरेबापत सरकारी ढुकुटीमा भने एक अर्ब ४८ करोड ५१ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

सोही अवधिमा ५१ किलोवाट देखि एक सय किलोवाट क्षमताका ३३ सय ९४ वटा विद्युतीय सवारीसाधन नेपालमा भित्रिएका छन्। सो मोडेलका सवारीसाधन आयात गर्दा ९ अर्ब ५८ करोड ९५ लाख रुपैयाँ बिदेसिएको छ। यद्यपि सरकारले ती सवारीसाधन आयात हुँदा ४ अर्ब ७० करोड ६३ लाख ८५ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।

चालु आवकै सात महिनाको अवधिमा १०१ किलोवाटदेखि २ सय किलोवाट क्षमताका चार पाङग्रे ७० वटा विद्युतीय सवारीसाधन आयात भएको छ। ती सवारीसाधन खरिद गर्दा मुलुकबाट ३५ करोड ९७ लाख ५८ हजार रुपैयाँ बाहिरिएको छ। त्यो मोडलको सवारी आयात हुँदा २५ करोड ३५ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

त्यसैगरी २०१ किलोवाट क्षमताभन्दा ठूलो क्षमताको १८ वटा जिपसहितको पिकअप पावरका विद्युतीय सवारीसाधन भित्रिएको थियो। सो मोडलका सवारीसाधन खरिद गर्दा मुलुकबाट १२ करोड ९८ लाख रुपैयाँ बाहिरिएको छ भने ती सवारीसाधन आयात भएबापत १८ करोड २९ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा तीन पाङग्रे विद्युतीय सवारीसाधन पाँच हजार ७ सय ९७ वटा भित्रिएको छ। ती तीन पाङग्रे विद्युतीय सवारीसाधन खरिद गर्दा मुलुकबाट ६० करोड रुपैयाँ बिदेसिएको छ। त्यसैगरी सो सवारीसाधनको राजस्व बापत सरकारले २० करोड ५७ लाख २७ हजार रुपैयाँ प्राप्त गरेको छ।

विभागका अनुसार आव २०७८/७९ मा चार पांग्रे विद्युतीय सवारी साधन १८ सय सात वटा आयात भएका थिए। अघिल्लो आवको तुलनामा गत आवमा २२ सय ४३ वटा बढी चार पांग्रे विद्युतीय सवारी साधन आयात भएका थिए।

विभागको विगत दुई वर्षको तथ्यांकले पनि नेपालमा विद्युतीय सवारी साधनतर्फ सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको देखाउँछ। भन्सार विभागका अनुसार आव २०७८/७९ मा चार पांग्रे विद्युतीय सवारी साधन १८ सय सात वटा आयात भएको थियो। तर आर्थिक वर्ष २०७९/८० मा त्यो संख्या दोब्बरभन्दा धेरैले बढेको छ।

विभागकै तथ्यांकअनुसार आव २०७९/८० मा विभिन्न मोडेलका चार हजार ५० वटा चार पांग्रे विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन्। अघिल्लो आवकै तुलनामा पनि गत आवमा करिब ६० प्रतिशतभन्दा धेरै विद्युतीय सवारी साधनप्रति क्रेज बढेको देखिन्छ।

भन्सार विभागका अनुसार आव २०७९/८० मा १२ अर्ब रुपैयाँका विद्युतीय सवारी साधन आयात हुँदा चार हजार ५० वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए।

प्रकाशित: १३ फाल्गुन २०८० १७:४५ आइतबार