अर्थ

जलवायु परिवर्तनले विद्युत् उत्पादन घट्यो

सुक्खायाम भएसँगै नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन ह्वात्तै घटेसँगै नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा चुनौती थपिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन र मागबीच सन्तुलन नहुँदा विद्युत् व्यवस्थापनमा चुनौती थपिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलवायु परिवर्तनको कारणले नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले हिउँद याममा १० प्रतिशत मात्रै विद्युत् उत्पादन गर्दै आइरहेको बताए।

‘नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले कुल जडित क्षमतामध्ये १० प्रतिशत बिजुली मात्रै उत्पादन गर्दै आइरहेका छन्,’ उनले भने, ‘काबेली कोरिडोरमा रहेका विभिन्न आयोजनाको जडित क्षमता दुई सय मेगावाटभन्दा धेरै छ तर अहिले सो कोरिडोरबाट मुस्किलले २० मेगावाट मात्रै बिजुली उत्पादन हुँदै आइरहेको छ।’

कार्यकारी निर्देशक घिसिङले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा धेरै सुक्खायाम लागेकाले पनि बिजुलीको उत्पादन घट्दै आइरहेको दाबी गरे। ‘यो वर्षको हिउँद याममा पर्याप्त मात्रामा हिउँ नै परेको छैन,’ उनले भने, ‘नदीनालामा पानीको वहाव सुकेसँगै विद्युत्को उत्पादन पनि ह्वात्तै घटेको छ।’

प्राधिकरणका अनुसार गत वर्ष हिउँद याममा दैनिक दुई करोड ८० लाख युनिट विद्युत्को माग रहेको थियो तर चालु आर्थिक वर्षको हिउँद याममा भने दैनिक तीन करोड ५० लाख युनिट विद्युत्को माग रहेको छ।

नदी प्रवाहमा आधारित आयोजनाले कम्तीमा पनि ३० देखि ४० प्रतिशत विद्युत् उत्पादन गर्नुपर्नेमा अहिले घटिरहेको छ। प्राधिकरणका अनुसार प्रत्येक वर्षको हिउँद याममा सरदर तीन सय मेगावाटभन्दा धेरै बिजुलीको माग बढ्ने गरेको छ तर बर्सेनि सरदर ५÷७ सय मेगावाट थपिँदा समेत सन्तुलन हुन सकेको छैन।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हिउँद यामको माग थेग्नका लागि सोलार प्लान्ट आयोजनालाई प्राथमिकतामा राखिएको दाबी गरे। ‘एक-दुई वर्षभित्रै निर्माण गर्न सकिने सोलार प्लान्टलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘सोलार प्लान्टले ऊर्जा समिश्रणमा निकै ठूलो भरथेग गर्ने छ।’

प्राधिकरण अर्धजलाशय तथा जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर निर्माणको चरणमा अघि बढ्ने तयारीमा जुटेको बताए। पछिल्लो समय साढे पाँच सय मेगावाटको हाराहारीमा विद्युत् आयात गरेर स्वदेशी माग थेग्दै आइरहेको छ।

प्रकाशित: १० फाल्गुन २०८० ०७:२० बिहीबार

विद्युत् उत्पादन ‘जलवायु परिवर्तन नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना विद्युत् व्यवस्थापनमा चुनौती नेपाल विद्युत् प्राधिकरण