अर्थ

विराटनगर भन्सारको घट्दाे राजस्व: ७ महिनामा ३४ प्रतिशत संकलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा करिब साढे ३४ प्रतिशत राजस्व संकलन गरेको छ।

विराटनगर भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा ३४.४३ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो।

चालु आर्थिक वर्षका लागि विराटनगर भन्सार कार्यालयलाई ५० अर्ब ८१ करोड ६३ लाख रुपैयाँ राजस्व लक्ष तोकेकोमा ७ महिनामा विराटनगर भन्सार कार्यालयले १७ अर्ब ४९ लाख ८६ करोड रुपैयाँ असुली गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष ०७९/८० को ७ महिना अवधिको भन्दा ९ प्रतिशत कम हो।  

गत आर्थिक वर्षको ७ महिनामा विराटनगर भन्सार कार्यालयले १९ अर्ब २७ करोड ४० लाख रुपैयाँ असुली गरेको थियो। चालु आर्थिक वर्षको सुरु देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले मासिक औसत लक्षको ६० प्रतिशत मात्रै राजस्व संकलन गरेको देखिएको छ। 

विराटनगर भन्सार कार्यालयले साउन महिनामा सबै भन्दा बढी ८१.५७ र कार्तिक महिनामा सबैभन्दा कम ४७.८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ।

तथ्याङ्क अनुसार विराटनगर भन्सार कार्यालयले माघ महिनामा लक्षको ६०.८५ प्रतिशत राजस्व संकलन गरेको छ।

माघ महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब ३ करोड २२ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष तोकिएकोमा विराटनगर भन्सार कार्यालयले २ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।

यस्तै पुस महिनामा ५५.५७ प्रतिशत राजस्व असुली गरेको छ। पुस महिनाका लागि ४ अर्ब २८ करोड ४२ लाख रुपैयाँ राजस्व असुलीको लक्ष पाएको विराटनगर भन्सारले २ अर्ब ३८ करोड ५ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। 

मंसिर महिनाका लागि ४ अर्ब २५ करोड ११ लाख रुपैयाँ लक्ष तोकिएकोमा विराटनगर भन्सार कार्यालयले २ अर्ब ४५ करोड ३ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। जुन लक्षको ५७.६४ प्रतिशत मात्रै हो। 

कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब २२ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष तोकिएकोमा १ अर्ब ९१ करोड ३२ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। जुन लक्षको ४७.८१ प्रतिशत हो।

असोज महिनामा विराटनगर भन्सारले ४ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष राखेकोमा २ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। जुन लक्षको ६०.१४ प्रतिशत हो। 

भदौ महिनाका लागि ४ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको थियो। जुन लक्षको ५६.८१ प्रतिशत हो।

साउन महिनामा भने विराटनगर भन्सार कार्यालयले लक्षको ८१ .५७ प्रतिशत राजस्व असुली गरेको थियो। साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ असुली गरेको थियो। 

आर्थिक मन्दीका कारण आन्तरिक बजारमा माग घटेपछि विराटनगर नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा भन्सारको राजस्व लक्ष अनुसार संकलन हुन नसकेको हो।

प्रकाशित: ५ फाल्गुन २०८० २०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App