अर्थ

डेलसन्स एसोसिएट्स युएईको सेवा सुरू

डेलसन्स एसोसिएट्स युएईले नेपालमा पनि सेवा सुरू गरेको छ। संयुक्त अरब इमिरेट्सको डेलसन्स एसोसिएट्सले दक्षिण एसियाका वाणिज्य बैंकहरूलाई स्थानीय र अन्तर्राष्ट्रिय वित्तीय कानुनहरू कार्यान्वयनमा सहजीकरण गर्न नेपालमा आफनो सेवा सञ्चालन गरेको जनाएको छ।

यसै क्रममा डेलसन्सले नेपालका बैंक तथा वित्तीय संस्थालगायत अन्य सरोकारवालाहरूसँग सेवा उपलब्ध गराउने सम्झौता गरेको छ। साथै डेलसन्सले नेपालमा फ्रिलान्सर संघ स्थापना गर्न नेपाल इन्टरनेट फाउन्डेसनसँग सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेको छ।

नेपाल र मध्यपूर्वमा डिजिटल फ्रिल्यान्सरका लागि इकोसिस्टम र रेमिट्यान्स च्यानल प्रवर्द्धन गर्न सघाउने जानकारी कम्पनीले दिएको छ। डेलसन्स एसोसिएट्स युएईका अध्यक्ष इब्राहिम अमीनले विश्वव्यापी वित्तीय प्रणालीअन्तर्गत नियम तथा कानुनहरूको ‘कम्प्लायन्स सिस्टम’लाई बलियो बनाउन नेपालमा सेवा विस्तार गरेको बताए।

यस्तै नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले अर्थतन्त्रको द्रुत विकासका लागि इन्टरनेट अपरिहार्य भएको बताए। त्यसैगरी डेलसन्स एसोसिएट्स युएईका सिइओ तुफैल अहमद खानले डेलसन्स एसोसिएट्सको वित्तीय विज्ञताले नेपालको दिगो र फ्रिल्यान्सिङ ल्यान्डस्केपको विकासमा टेवा पुग्ने बताए।

प्रकाशित: २९ माघ २०८० ०७:०३ सोमबार

डेलसन्स एसोसिएट्स युएई दक्षिण एसियाका वाणिज्य बैंकहरू