अर्थ

दोहोरो अंकले नेप्से घट्दा चार अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आइतबार नेप्सेपरिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा झरेको छ। कारोबार सुरु हुने बढेको नेप्सेपरिसूचक दिनभरजसो उतारचढावपूर्ण हुँदै बन्द हुने बेला भने दोहोरो अंकले घटेको हो। आइतबार १४८ कम्पनीको सेयर घट्यो भने ९१ कम्पनीको सेयर बढ्यो। ८ कम्पनीको सेयर भने स्थिर रहयो।

आइतबार एक करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रुपैयाँको सेयर कारोबार भएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भयो। सेन्सेटिभ सूचक ३.८९ अंकले घट्यो भने फ्लोट सूचक ०.६२ अंकले घट्यो। त्यसैगरी सेन्सेटिभ सूचक पनि १.०७ अंकले घट्यो। आइतबार नेप्सेका १३ उपसमूहमध्ये १० उपसमूह घट्यो भने तीन उपसमूह बढ्यो। आइतबार घट्ने उपसमूहमा उत्पादन तथा प्रशोधनतर्फ रह्यो। सो उपसमूह १६८ अंकले घट्यो। त्यसैगरी होटल तथा पर्यटनतर्फको उपसमूह पनि ८८.०८ अंकले घट्यो। टे«डिङतर्फ पनि ४४.५२ अंकले घट्यो  आइतबार बढ्ने उपसमूहमा हाइड्रोपावरतर्फ ६.०१ अंकले बढ्यो।

त्यसैगरी विकास बैंकतर्फ ३.७७ अंक र म्युचुअल फण्डतर्फ भने ०.०१ अंकले बढ्यो। आइतबार सवैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा समाज लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले बढ्यो। त्यसैगरी कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर पनि ६.७१ प्रतिशतले बढेको छ। आइतबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा एनआईसी ग्रोर्थ फण्ड रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। त्यसैगरी युनिलिभर नेपाल कम्पनीको सेयर ७।१४ प्रतिशत र गुराँस लघुवित्त संस्थाको सेयर पनि ७.१३ प्रतिशतले घटेको छ। गत साताको अन्तिम कारोबार दिन विहीबार नेप्सेपरिसूचक ५.५६ अंकले बढेर २०९६.३२ विन्दुमा पुगेको  थियो।

सो दिन १५७ कम्पनीको सेयर बढ्यो भने ८२ कम्पनीको सेयर घट्यो। ८ कम्पनीको सेयर स्थिर रह्यो । विहीबार दिनभरजसो नेप्सेपरिसूचक तिव्र उतारचढावपूर्ण रह्यो । विहीबार ९१ लाख ७१ हजार ७ सय १० कित्ता सेयर किनबेच हुँदा तीन अर्ब २१ करोड २२ लाख ८३ हजार ४ सय ५३ रुपैयाँको सेयर कारोबार भयो ।

प्रकाशित: २८ माघ २०८० १६:४५ आइतबार

नेप्से