अर्थ

गत वर्ष झन्डै चार अर्बको चिया निर्यात

स्वदेशमै खपत बढाउन प्रर्दशनी

 नेपालमा चिया खेतीको इतिहास एक सय ६० वर्ष पुरानो छ। इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले विस १९२० मा चियाको बिरुवा रोपेर खेतीको सुरुवात गरेका थिए। अहिले यही चिया नेपालको निर्यात हुने वस्तुमध्ये एक हो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई कोरोना महामारीको समयमा निर्यात हुने वस्तुमा चिया पनि एक रहेको बताउँछन्।

‘हामीले चिया खेतीलाई त्यति महŒव दिएका छैनौं। नेपालले चियाबाट राम्रो आम्दानी गर्न सक्छ,’ उनले भने, ‘कोरोना महामारीमा ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भएको थियो। यो सम्भवत कोरोनाको समयमा निर्यात हुने वस्तुमा एक मात्र हुन सक्छ।’

नेपाली चिया खेतीको विस्तार पनि भइरहेको छ। अहिले नेपालमा २० हजार दुई सय १२ हेक्टर क्षेत्रफलमा चिया खेती हुने भट्टराईले बताए। नेपालमा चिया खेतीको व्यवसायी खेती भएको त्यती लामो छैन।

‘तत्कालीन राजा विरेन्द्रले २०३९ मा पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्रको रूपमा घोषणा गरेपछि साना किसानको स्तरमा चिया खेतीले व्यापकता पाएको देखिन्छ,’ उनले भने ‘अहिले नेपाली चिया विश्व बजारमा भएको छ।’

पूर्वी नेपाललाई चिया खेती र मध्य नेपालका गुल्मी, पाल्पा, पर्वत, अर्घखाँची लगायतका जिल्लालाई कफी खेतीमा विस्तार गर्ने लक्ष्यका साथ सरकार अगाडि बढेको थियो। पछिल्लो समय बाग्लुङ, म्याग्दी कास्कीलगायतका जिल्लामा पनि चियाको विस्तार भइरहेको उनले बताए।

नेपालमा अहिले १५ हजारभन्दा बढी किसान चिया खेतीमा लागेका छन्। ६० हजार बढी श्रमिकहरू यसमा आवद्ध रहेको भट्टराईले जानकारी दिए। किसानले वार्षिक २६ हजार तीन ७९ मेट्रिक टन चिया उत्पादन गर्ने गरेका छन्। नेपालमा उत्पादित चियामध्ये आधा ६० प्रतिशतको हाराहारीमा चिया निर्यात हुने गरेको छ।

गत आर्थिक वर्ष नेपालबाट तीन अर्ब ९३ करोड ७२ लाख बराबरको चिया निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तग्यांकमा उल्लेख छ। नेपालबाट गत आर्थिक वर्ष १६ हजार पाँच सय ९४ मेट्रिक टन चिया निर्यात भएको थियो।

अघिल्लो आर्थिक वर्षभन्दा चार हजार एक सय मेट्रिक टन चिया बढी उत्पादन भएको हो। आर्थिक वर्ष २०७८/७९ मा १२ हजार चार ९४ मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

स्वदेशी चिया निर्यात भए पनि केही मात्रामा भारतबाट चिया निर्यातसमेत हुने गरेको छ। विशेष गरेर उच्च घरानाले अछामको स्पेसल चिया आयात गर्ने गरेको कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए। उनका अनुसार, गत आर्थिक वर्ष दुई सय तीन मेट्रिक टन चिया आयात भएको थियो। नेपाली चिया, पाकिस्तान, अफ्गानस्तान, बंगलादेश, जापान लगायतका देशमा निर्यात हुने गरेको छ।

बढ्दो व्यापार घाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा बढाउँदै आन्तरिक बजारमा पनि स्वदेशी चियाको उपभोग वृद्धि गर्नुपर्ने उनले बताए। चियाको खपतलाई दृष्टिगत गर्दै चितवनको नारायणी किनारमा चिया तथा कफी विकास बोर्डले चिया प्रर्दशनीसमेत गरेको छ।

 ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ माघ २६ र २७ गते चिया प्रर्दशनी गरिएको हो। प्रर्दशनीमा देशभरका चिया उत्पादन किसानहरूले प्रर्दशन गरेका थिए।

प्रर्दशनीमा चियाको टेस्टिङदेखि चिया पकाउने तरिकासम्म जानकारी दिइएको थियो। बोर्डले चियाको खपत बढाउनका लागि दुई वर्षअघि बुटवलमा प्रर्दशनी गरेको थियो।

नेपाली चियालाई प्रवद्र्धन गर्नसक्ने हो भने नेपालको कुल ग्राहस्थ उत्पादनलाई राम्रो फाइदा हुने भट्टराईको तर्क छ। ‘नेपालीले चिया त्यति बढी खाँदैनन्। विदेशी ब्राण्डका रक्सिमा नेपाली रूपैयाँ बाहिरिएको छ।

चियाले रक्सि खाने लत छोड्न सक्छ,’ उनले भने, ‘नेपाली आम उपभोक्ताको माग अनुसार संख्यात्मक उत्पादन मात्रै नभएर तयारी चियाको विशिष्टीकृत गुणस्तरमा ध्यान दिन अति जरुरी छ।’ 

नेपालमा चियाको आन्तरिक खपत अन्य छिमेकी मुलुकको तुलनामा अति नै न्यून रहेको उनले बताए।

प्रकाशित: २८ माघ २०८० ०९:३२ आइतबार

स्वदेशमै खपत बढाउन प्रर्दशनी गत वर्ष झन्डै चार अर्बको चिया निर्यात