अर्थ

निषेधित क्षेत्र प्रवेशका लागि परिचय लुकाउँछन भारतीय पर्यटक

मुस्ताङको छुसाङमा प्रहरीले राखेको जानकारीमूलक सूचना बोर्ड। पर्यटकका लागि जानकारी दिने गरि प्रहरीले केहीदिन अघि त्यहाँ सूचनामूलक बोर्ड राखेको हो। तस्बिरः नागरिक

केहीसमय अघि उपल्लो मुस्ताङबाट सातजना भारतीय पर्यटक पक्राउ परे। ती पर्यटक पक्राउ पर्नुको कारण थियो–आफुलाई नेपाली नागरिक बताउँदै नाकामा रहेको प्रहरीलाई झुक्याएर ती पर्यटक निषेधित क्षेत्रमा प्रवेश गरेका थिए। तर, पछि प्रहरीले शंका लागेर सोधखोज गर्दा उनीहरु नेपाली नागरिक नभई भारतको दार्जिलिङ तथा सिक्किम क्षेत्रका नेपाली भाषी भारतीय थिए।

उपल्लो र तल्लो मुस्ताङलाई छुट्याउने नाका हो–छुसाङ। छुसाङमा इलाका प्रहरी कार्यालय छ। छुसाङ प्रहरीले माथि उक्लिने सबै पर्यटकको व्यक्तिगत विवरण नाकामा राख्ने गर्छ। किनकी छुसाङ देखि माथिको ठाउँ विदेशी पर्यटकका लागि निषेधित क्षेत्र हो जहाँ प्रवेश गर्दा सबै विदेशी पर्यटकले अतिरिक्त शुल्क तिर्नुपर्छ। तर, स्वदेशी पाहुनाका लागि भने त्यो शुल्क पर्दैन।  

निषेधित क्षेत्रको शुल्क छल्नका लागि ती भारतीय पर्यटकले आफुलाई नेपाली नागरिक बताएका थिए। ‘पक्राउ परेका ती पर्यटक नेपाली नागरिक होईनन, तर, नेपाली भाषी भने हुन। उनीहरु भारतको दार्जिलिङ र सिक्किमका थिए,’ मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डे भन्छन, ‘निषेधित क्षेत्रको शुल्क छल्नकै लागि भारतीयले आफुहरुलाई नेपाली नागरिकको रुपमा चिनाउने गरेका छन। आफुलाइ नेपालीको गलत पहिचान दिलाएर प्रवेश गर्न खोज्छन।’ पाण्डेका अनुसार भारतीयसँगै चिनियाँ पाहुना पनि पक्राउ परेको उनले बताए।  

त्यस्तै केहीदिन अघि मात्र पनि छुसाङबाटै १७ जनालाई प्रहरीले फिर्ता पठाएको थियो। फिर्ता पठाइएका १७ मध्ये १२ जना भारतीय थिए। अरु विभिन्न मूलूकका पाहुना थिए। भारतीय सहितका ती पर्यटकले पनि शुल्क छल्न खोजेका थिए। भारतीले भने आफुहरु नेपाली नागरिक भएको पहिचान दिएका थिए। तर, पछि प्रहरीले उनीहरुको परिचय खोज्दा भारतीय भएको खुलेको थियो।

‘आफुलाई नेपाली नागरिकको पहिचान दिलाएर निषेधित क्षेत्रमा प्रवेश गर्न थालेपछि हामीले छुसाङ र मुस्ताङ प्रवेशको नाका घाँसामै सूचना बोर्ड नै राखेका छौं,’ डिएसपी पाण्डेले भने, ‘थाहा नपाएरै भित्रिएका हुन की भनेर पनि सचेत गराउन खोजेका हौ।’ पक्राउ परेका ती सबै भारतीय पर्यटकलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको र जिल्ला प्रशासन मार्फत अध्यागमन कार्यालयमा पठाइएको उनले बताए।  

निषेधित क्षेत्रमा प्रवेश गर्दा विदेशी पर्यटकले पहिलो १० दिनका लागि प्रतिव्यक्ति ५ सय अमेरिकी डलर शुल्क तिर्नुपर्छ। १० दिन कटेपछि प्रतिदिन ५० अमेरिकी डलरका दरले अतिरिक्त शुल्क तिनुपर्छ। पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का गण्डकीका अध्यक्ष धर्मराज पन्थी भन्छन, ‘शुल्क छल्नकै लागि नेपाली भाषी भारतीय नागरिकले प्रयास गर्ने गरेका छन। दार्जिलिङ र सिक्किमबाट आएका नेपालीभाषी भारतीले आफुलाई नेपाली नागरिक बताउँदै प्रवेश शुल्क छल्नका लागि प्रयास गर्ने गरेको उनले बताए। ‘यतिसम्मकी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लाई तिर्नुपर्ने शुल्क पनि छल्न खोज्छन। त्यसबाहेक माथिल्लो क्षेत्रमा प्रवेश गर्दा पनि आफुलाई नेपाली नागरिकको रुपमा देखाउने प्रयास गर्छन,’ उनले भने।  

एक्याप मुस्ताङका संरक्षण अधिकृत प्रमोद रेग्मीका अनुसार अन्नपूर्ण क्षेत्रमा प्रवेश गर्दा सार्क मूलूकका नागरिक (नेपाली बाहेक) ले प्रतिव्यक्ति एकहजार र तेश्रो मूलूकका पर्यटकले तीनहजार रुपैयाँ प्रवेश अनुमति शुल्क तिर्नुपर्छ। निषेधित क्षेत्रको शुल्क भिन्दै तिर्नुपर्छ। संरक्षण क्षेत्रभित्र अनुमति नलिइ प्रवेश गरेको अवस्थामा चेकपोष्टमा चेक गर्दा फेला परेमा दोब्बर जरिवाना लाग्छ। ‘कागबेनीको चेकपोष्टमा पनि चेकजाँच हुन्छ। छुसाङदेखि माथिल्लो क्षेत्र निषेधित क्षेत्र हो। जहाँ प्रहरीको चेकपोष्ट छ। त्यहाँ हरेक पर्यटकको परिचय परीक्षण हुन्छ,’ रेग्मीले भने, ‘कतिपय पर्यटकले निषेधित क्षेत्र प्रवेश गर्दाको शुल्क तिर्न नपरे हुन्थ्यो भन्न सक्छन्।’ 

एक्यापका अनुसार मुस्ताङको निषेधित क्षेत्रमा मात्र सन् २०२३ मा ३ हजार ४ सय ८४ जना विदेशी पर्यटक पुगेका थिए। यो संख्या सन् २०२२ मा ३ हजार १ सय १२ जना थिए। २०२१ मा भने जम्मा ३ सय ३७ जना मात्र गएका थिए। पछिल्लो २० वर्षमा सबैभन्दा बढी सन् २०१४ मा मुस्ताङको निषेधित क्षेत्रमा जाने विदेशीको संख्या ४ हजार १ सय ४७ रहेको थियो। सन् २०२३ मा मुस्ताङ प्रवेश गर्ने विदेशी पाहुनाको संख्या ९० हजार ३ सय ५६ रहेको एक्यापले बताएको छ। ती मध्ये सबैभन्दा बढी भारतीयको संख्या ७२ हजार १ सय थियो।  

प्रकाशित: २४ माघ २०८० १७:०२ बुधबार

निषेधित क्षेत्र मुस्ताङ