अर्थ

अर्थमन्त्री भन्छन्:ओलीले गरेका शिलान्यासको दायित्व अहिले व्यहोर्नु परेको छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले विगतमा आवश्यकता र प्राथमिकता विना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले आर्थिक क्षेत्रमा समस्या आइरहेको बताएका छन्।

विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एकसाथ ३ सय ९६ अस्पताल शिलान्यास भएको उदाहरण दिँदै उनले विगतको सरकारले पछि तिर्ने गरेर पहिल्यै खर्च गरेकाले त्यसको सम्पूर्ण दायित्व अहिलेको सरकारले व्यहोर्नु परिरहेको बताए।

डा. महतले अर्थतन्त्र सकारात्मक भए पनि बजेटरी सिस्टममा समस्या भएको पनि उल्लेख गरे। त्यसलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने जानकारी दिए।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सव कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘अर्थतन्त्र बिस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ,’ मन्त्री महतले भने, ‘त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ।’

‘बेथितिबाट बजेट खर्च भएको थियो, बेथितिलाई थितिमा ल्याउन अझै समय लाग्छ,’ मन्त्री डा.महतले भने, ‘तर समग्रमा अर्थतन्त्र लयमा फर्किँदै छ।’

उनले आन्तरिक क्षेत्र पनि सकारात्मक हुँदै गएको तथ्याङ्कले नै देखाएको बताए। अहिले मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब रुपैयाँ नाघेको जानकारी दिँदै मन्त्री महतले त्यसलाई खर्च गर्न भने समस्या भएको बताए। आगामी दिनमा त्यो खर्च पनि तीव्र रूपमा बढ्ने उनले दाबी गरे।

‘पुँजी आएको छ तर त्यसलाई खर्च गर्न समस्या भएको छ। अब आउने दिनमा त्यो खर्च पनि तीव्र रूपमा बढ्छ,’ उनी भन्छन्, ‘तर सरकारको पुँजीगत खर्चले मात्र अर्थतन्त्र चलायमान हुँदैन।’

सरकारको धेरै बजेट सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब भत्ता र विदेशी ऋणको सावाँ ब्याजमा खर्च हुने गरेको उनले जानकारी गराए।

प्रकाशित: २४ माघ २०८० १०:४८ बुधबार

अर्थमन्त्री डा. प्रकाशशरण महत प्रकाशशरण महत अनुत्पादक क्षेत्र खर्च आवश्यकता केपी शर्मा ओली स्पताल शिलान्यास सरकार अर्थतन्त्र सकारात्मक