अर्थ

ग्लोबल आइएमई बैंकलाई आइएफसीको सात अर्ब ऋण

बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रूपैयाँ लगानी गर्ने सम्झौता भएको छ। सो लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरूलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गरिने भएको छ।

लगानीको उद्देश्य साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सिर्जना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने रहेको बैंकले जनाएको छ।

सो लगानी तथा परिचालनले बैंकलाई साना तथा मझौला व्यवसाय, कोभिड १९ महामारीबाट प्रभावित उद्यम, महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यम र ग्रामीण क्षेत्रमा रहेका उद्यम व्यवसायलाई सहयोग गर्न सघाउ पुर्‍याउने जनाएको छ।

नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुङ्गानाले नेपाल राष्ट्र बैंक नेपालमा वैदेशिक लगानी ल्याउने विषयमा निकै खुशी रहने बताउँदै त्यसका लागि नेपाल राष्ट्र बैंकले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

यस्तै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएफसीसँगको सहकार्यले बैंकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्न सहयोग पुगेको बताए।

प्रकाशित: २२ माघ २०८० ०८:२९ सोमबार

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) वित्तीय पहुँच प्रदान