अर्थ

सबै अन्तर्राष्ट्रिय विमानस्थल पिपिपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति

फाइल तस्वीर

सरकारले काठमाडौं, पोखरा र भैरहवालगायत प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलसमेतलाई पूर्ण क्षमतामा निर्माण गर्ने सर्तसहित पिपिपी मोडेलमा सञ्चालन गर्नेबारे अध्ययन समिति गठन गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तावलाई स्विकृति प्रदान गरेको हो।

विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानीबोर्डका 
सहसचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दिपेन्द्र श्रेष्ठ रहेको पाँच सदस्यीय समिति गठन गरेको हो।

त्यस्तै वायुसेवा निगम करार व्यवस्थापनका लागि योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा, टीकाराम राई, पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयका प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने गरी पाँच जनाको समिति पनि बनाइएको छ। समितिलाई ४५ दिनको समय दिइएको छ।

यससँगै तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने र भत्किएको संरचना नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडाको प्रजनन केन्द्रका लागि नेपाली सेनालाई शक्तिखोरमा जग्गा उपलब्ध गराउने र खर्च हुने संभावित रकम सरकारले व्यवस्था गर्ने निर्णय गरेको छ।

प्रकाशित: १९ माघ २०८० ११:१४ शुक्रबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीपरिषद् बैठक