अर्थ

सांस्कृतिक माहौलले विदेशीलाई लोभ्याउँदै

विगत १० वर्षदेखि ठमेलको गोकर्ण हाउस रेस्टुरेन्टमा आउने पाहुनाले मौलिक नेपाली खानाको साथै विभिन्न कला तथा सांस्कृतिक कार्यक्रमको अनुभूति लिइरहेका छन्। एउटै छानामुनि  रेस्टुरेन्टमा आउने विदेशी तथा स्वदेशी पाहुनाले नेपाली खानाका परिकारहरूसँगै मौलिक संस्कृति झल्किने परम्परागत नृत्यहरू पस्किने गरेका छन्।

रेस्टुरेन्ट अपरेसन म्यानेजर राजु पाण्डेले होटेल तथा रेष्टुरेन्टहरूमा देखाइने  सांस्कृतिक नृत्यहरूले पर्यटकलाई मनोरञ्जन मात्र नभई मौलिक कला र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न समेत सहयोग पुगेको बताए। ‘नाच्ने गाउने कुराहरू मनोरञ्जनमा मात्र सीमित छैन, यसले नेपाली कला र संस्कृतिलाई जर्गेना गरेको छ, अन्तर्राष्ट्रियकरण गरेको छ,’ पाण्डे भन्छन्,‘विदेशी पर्यटकले टुर र ट्रेकमा गएका बेला हेरे देखेका भेसभुसा, तथा जीवनशैलीलाई नृत्यमार्फत देखाउँदा उनीहरूले नेपाली संस्कृति नजिकबाट महसुस गर्छन्, उनीहरू एकदमै उत्सुक र खुसी हुन्छन्।’

पाण्डेका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमहरूले पर्यटकहरूलाई मनोरञ्जन दिने त छदैछ। उनीहरू घुम्न जाँदा गाइडले कुनै बेला भन्न छुटेको सांस्कृतिक पाटोलाई समेत यस्ता सांस्कृतिक नृत्य तथा गीतहरूले समेटेको छ। ‘मौलिकपन झल्कने नृत्य तथा गीतहरू व्यापार भन्दा पनि अभियान हुन्। यसले नेपालीको भेषभुषा, रहनसहन, कला, संस्कृत, जीवनजगतको व्याख्या गर्छ,’ पाण्डे भन्छन्, ‘यस्ता मौलिक नेपाली गतिविधिहरू व्यापार भन्दा पनि कला र संस्कृति जगेर्ना तथा प्रवर्द्धन निम्ति बढी समर्पित हुन्छ।’

एक दशक देखी गोकर्ण हाउस रेस्टुरेन्टले तामाङ, मगर, नेवार, मयुर, शेर्पा, गुरुङ, राई, क्षेत्री, थारु आदी समुदायका नृत्यहरू पाहुनाहरूलाई पस्किँदै आएको छ। साथै सांगितीक कार्यक्रमहरू पनि रेस्टुरेन्टले गर्दै आएको छ।

रेस्टुरेन्ट तथा होटेलमा हुने यस्ता सांस्कृतिक कार्यक्रमहरूले पर्यटकले थप मनोरञ्जन प्रदान गर्छन्। मौलिक कला र सांस्कृतिक पाटो मनोरञ्जन र व्यापारसँग मात्र सम्बन्धित नभई विश्वव्यापी प्रचारप्रसार, प्रवर्द्धन र जगेर्ना गर्न सहयोग पुग्छ। यसबाट होटेल तथा रेस्टुरेन्टले मात्र नभई राज्यले समेत लाभ लिइरहेको हुन्छ। साथै यससँगै संलग्न कलाकारहरूले रोजगार पाइरहेका हुन्छन् भने उनीहरूको आर्थिक उपार्जन समेत सहयोग भइरहेको हुन्छ। पाण्डेका अनुसार हाल गोकर्ण हाउसमा १० जना कलाकारहरूले पूर्ण रूपमा सांस्कृतिक समूहका लागि रोजगार गरिरहेको बताए।

ठुला होटेल र आधुनिक रेष्टुरेन्टहरुमा पछिल्लो समय विदेशी पर्यटकलाई मनोरञ्जन दिन रैथाने नृत्यहरू देखाइन थालेका छन्। यसले नेपाली मौलिक परम्परागत नृत्यलाई जगेर्ना गर्ने त छँदैछ सँगै अन्तर्राष्ट्रियकरण तथा आर्थिक उपार्जनको पाटो समेत बनेको छ। आधुनिकतालाई आत्मसात् गरेको अहिलेको अवस्थामा परम्परागत तथा मौलिक सांस्कृतिक गतिविधिहरूले नेपालीपन जोगाउन यस्ता मौलिक सांस्कृतिक पस्किने होटेल तथा रेस्टुरेन्टको छुट्टै भूमिका छ। जसमा मौलिक नेपाली परम्परागत शैलीका नृत्यहरू यसको एक बलियो उदाहरण हो।

यस्तै लाजिमपाट उत्तरढोकामा रहेको वेलनेस अर्ग्यानिक रेस्टुरेन्टले पनि विगत सात वर्षदेखि सांस्कृतिक कार्यक्रमहरू राखेको छ। रेस्टुरेन्ट निरीक्षक यादव गेलालका अनुसार हप्तामा आठ वटा सांस्कृतिक कार्यक्रमहरू पाहुनाले हेर्न सक्नेछन्। ‘हामीले साँझ ६ः३० बाट सांस्कृतिक कार्यक्रम सुरु गरेर ९ बजे जस्तो समापन गछौं,’ उनले भने,‘यदि कुनै पनि पाहुनाले समय थप गर्न अनुरोध गरेमा त्यसको पनि व्यवस्था गछौं।’

गेलालका अनुसार रेस्टुरेन्टमा शुक्रवार, शनिवार कृष्ण आरतीबाट आइतबार देखि बिहीबार शिव ताण्डवबाट सांस्कृतिक कार्यक्रम सुरु हुन्छ। वेलनेसमा नेवारी नृत्य, तामाङ नृत्य, भोजपुरी नृत्य, शेर्पा नृत्य, मयुर नृत्य गरेर आठ समुदायका नृत्य देखाउँदै आएको छ। ‘विदेशी पर्यटक नेपाल आउने भनेको यहाँको मौलिक कुराहरू हेर्न आउने हो,’ उनले भने,‘होटेल तथा रेष्टुरेन्टहरुले एउटै ठाउँमा हिमाल, पहाड, तराईको मौलिक नृत्य हेर्न पाउँछन्। यहाँ आउने विदेशी पर्यटकहरूले हाम्रा मौलिक नाँचहरु हेरेर रोमाञ्चित हुन्छन्। मौलिक नृत्यहरू एकदम मन पराउँछन्।’

अर्गानीक खानासँग मौलिक नृत्य तथा गानाहरूमा पर्यटकहरू रमाउने बताउँदै गेलालले यस्ता कार्यक्रमहरूले नेपालको रैथाने समुदायहरूको भेसभुसा, संस्कृति, रहनसहन विदेशीसँग आदानप्रदान गर्ने बताए। ‘होटेल तथा रेस्टुरेन्टमा हुने मौलिक कार्यक्रमहरू वास्तवमा हाम्रो नेपालको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुगेको छ,’ उनले भने,’विदेशी पाहुना मात्र हैन नेपालमा नै पछिल्लो पुस्ताहरूलाई आफ्नो सांस्कृतिक र परम्पराको बारेमा चासो जगाउने  बलियो माध्यम बनेको छ।’

त्यस्तै, डिल्लीबजारमा रहेको मौलिक तथा परम्परागत घरमा सञ्चालन भोजन गृहमा पनि यस्तै सांस्कृतिक कार्यक्रमबाट पाहुनालाई आकर्षित गर्ने गरेको छ। २५ वर्ष देखि सञ्चालनमा रहेको भाजन गृहमा पनि विभिन्न मौलिक नृत्य तथा वाद्यवादनले त्यहाँ आएका पर्यटकलाई मनोरञ्जन दिँदै आएको छ।

भोजन गृह साँझमा नेवार, थारु, शेर्पा, तामाङलगायत विभिन्न नेपाल सांस्कृतिक विविधता झल्कने ८/९ प्रकारका नाचहरू प्रस्तुत हुन्छ। यसले त्यहाँ आएका पाहुनालाई मनोरञ्जन त प्रदान गर्छ नै त्यसबाहेक विविध मौलिक नेपाली कला र संस्कृतिबारे समेत जानकारी प्रदान गर्छ। भोजन गृहले परम्परागत आकृति वा संरचनालाई मात्र ध्यान दिएको छैन। यसले सांस्कृतिक पक्षलाई पनि उत्तिकै आत्मसात् गरेको छ। यहाँ आएका विदेशी र स्वदेशी सबै पाहुनाहरूले ठेट नेपाली संस्कृतिको पनि महसुस गर्न पाउँछन्।

नेपाल सांस्कृतिक विविधताले धनी देश हो। नेपाल नेसनल फाउन्डेसन फर डेभलपमेन्ट अफ इन्डिजिनियस नेसनालिटिज अनुसार नेपालमा ५९ प्रकारका विभिन्न आदिवासी समूहहरू छन्। मुलुकमा पर्यटक तान्न यो अर्को बलियो पक्ष हो। घले गाउँको गुरुङ  र मगर समुदायहरूको सांस्कृतिक माहौल होस वा मुस्ताङको शेर्पा जातिको जीवनशैली तथा रहनसहन, तराईका थारु समुदायका भेसभुसा र भाषाशैली होस् वा पहाडका राई, लिम्बुका जीवनशैली र सांस्कृतिक मूल्य मान्यता विदेशी पर्यटक सधैँ लालायित बनेका छन्। र यी सबै समुदायका मौलिक नृत्यले नेपालको पर्यटन क्षेत्रलाई विश्वमाझ विकास तथा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

प्रकाशित: १७ माघ २०८० १२:५६ बुधबार

सांस्कृतिक विदेशी