अर्थ

सेटिङमा राजस्व छलीको तामा कर्णालीमा

कर्णाली करिडोरस्थित कालिकोटको रेगिलमा भन्सार छलेर ल्याइएका तामाका भाँडा । तस्बिर : पवित्र-नागरिक

कालिकोट – भन्सार राजस्व छलेर करोडौंका तामाका भाँडा कर्णाली भित्र्याइएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने नेपाली भन्सार कार्यालयसँग मिलेमतोमा तामाका भाँडा नेपाल भित्र्याइएको हो।

विशेषगरी व्यापारीले नेपालको पश्चिम नाकाबाट भन्सार छलेर तामाका भाँडा कर्णालीतिर ल्याउने गरेका छन् । कर्णाली पुर्‍याइएका ती तामाका भाँडा महँगो मूल्यमा ग्रामीण क्षेत्रमा बिक्री गर्ने गरिएको छ।

कर्णालीको कालिकोटमा मात्रै एउटा स्थानीय तहमा प्रतिमहिना पाँच सयभन्दा बढीका तामाका भाँडा बिक्री हुने गरेका छन् । भन्सार कर्मचारीसँगको मिलेमतोमा कर्णालीमा तामाका भाँडा भित्र्याउने गरिएको व्यापारीको भनाइ छ । ती व्यापारीले भने, ‘भन्सार कर्मचारीको सेटिङबिना सामान ल्याउनै गाह्रो हुन्छ । बैतडीको झुलागाड नाकाबाट कर्मचारीसँग मिलेर नै तामाका भाँडा भित्र्यायौं ।’ हाल कालीकोटमा डडेल्धुराका सयौं व्यापारीले तामाका भाडाको गोदाम बनाएर बिक्री गर्ने गरेका छन् ।

भारतबाट सामान आयात गर्ने नेपाली व्यवसायीले वास्तविक कारोबारको बिल नल्याई थोक बजार मूल्यभन्दा धेरै कम मूल्यमा सामान किनेको बिल भन्सार कार्यालयमा पेस गर्ने गर्छन् ।

पश्चिम नाकाबाट मासिक करोडौं रुपैयाँ बराबरको राजस्व छली हुने गरेको छ । कालिकोट पचालझरना–३ का स्थानीय अली ऐडीले ६० हजार रुपैयाँमा एउटा तामाको ताउलो किने । तर, उनलाई उक्त ताउलाको खरिद मूल्य कति पर्छ भन्ने थाहा छैन । ऐडीले भने, ‘घरमा अति आवश्यक भएकाले ताउलो किनेको हुँ । ताउलो त निकै महंगो रहेछ ।’ व्यापारीले भारतको गौरीफण्टा बजारबाट तामा ल्याउने गरेको सुनाए ।
करोडौं राजस्व छली
नेपाल–भारत सीमामा पर्ने व्यापारिक नाकामा राजस्व छली भएकै कारण नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव परिरहेको छ । नेपाली भन्सार कार्यालयले नै यसरी राजस्व नलिएरै तामा भिœयाउने गरेको छ । अहिले भारतबाट सामान आयात गर्ने नेपाली व्यवसायीले वास्तविक कारोबारको बिल ल्याउँदैनन् । भारतको थोक बजार मूल्यभन्दा धेरै कम मूल्यमा नेपाली व्यवसायीले सामान किनेको बिल भन्सार कार्यालयमा पेस गर्ने गर्छन्।

ठूलो परिमाणमा राजस्व गुमाउने अवस्थामा पनि सरकारले वास्ता नगरेको कानुन व्यवसायी अमलराज शाहीले बताए । नक्कली बिल बनाउन नसक्ने व्यवसायीले मुख्य भन्सार नाकाबाट सामान नल्याएर छोटो दूरीको भन्सार नाका प्रयोग गर्न थालेका छन् ।

यसले एकातिर तामाका भाँडा आयातमा राजस्व छली भएको छ भने अर्काेतिर भन्सारबाट सामान ल्याएर चोरी तस्करी मौलाउँदै गएको स्थानीयको बुझाइ छ।पछिल्लो समय नेपाली व्यवसायीले भारतीय व्यापारीसँग मिलेर यथार्थभन्दा फरक बिल बनाएको आशंका उपभोक्ताले गरेका छन् । भारतीय व्यवसायीको मिलेमतोमा जिएसटीको नक्कली बिल बनाइएको हो वा कम मूल्य राखेर बनाउने गरिएको छ भन्ने विषयमा सरकारी निकाय पनि अनभिज्ञ छ।

धेरैजसोले बैतडीको झुलागाड नाका, महेन्द्रनगरको वनवासा र दार्चुलाबाट भारतीय सामान नेपाल भित्रिने गरेको छ । सीमा क्षेत्रका स्थानीय व्यापारीले भन्सार नाकाबाट चोरी तस्करीका भारतीय सामग्री आयात गर्न थालेका हुन् । ‘कर्मचारीको मिलेमतोमा व्यापारीलाई चोरी तस्करी गरेर भारतीय सामान भिœयाउन सजिलो भएको छ,’ उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष सूर्यबहादुर शाहीले भने, ‘सरकारले करोडौं रुपैयाँ बराबरको राजस्व गुमाएको छ।’
कालोबजारी फस्टाउँदै
कालोबजारीसँगै राजस्व संकलनमा कमी आउदा यसले नेपाली अर्थतन्त्रमा नराम्रो असर पर्ने विज्ञहरुको बुझाइ छ । कालोबजारी र राजस्व छली गर्नेले मात्रै मौका पाए भने त्यसले मुलुकमा धनी र गरिबबीचको सन्तुलन बिग्रन सक्ने खतरा बढ्दै गएको छ । नेपालको कुल व्यापारको दुई तिहाइभन्दा बढी व्यापार भारतसँग हुने गरेको छ।

नेपाली व्यापारीले कारोबार गरेर भन्सार राजस्व छली गर्दा मुलुकको अर्थतन्त्र प्रभावित हुने निश्चित भएको कर्णाली प्रदेश सांसद गुलावजंग शाहले बताए । ‘भन्सार छली गरेर चोरी तस्करीको सम्भावित जोखिम बढ्ने खतरा पनि उत्तिकै छ,’ उनले भने । सरकारले समग्र अर्थतन्त्रमा पर्ने प्रभावको विश्लेषण गर्दै सोही अनुरूपको रणनीति कार्यान्वयन गर्नेतर्फ ध्यान दिएको अनुभूति हुन नसकेको इमान्दार व्यापारीको बुझाइ छ।

सीमा क्षेत्रका भन्सार कार्यालयमा हुने गरेका विकृतिप्रति सरकार सजक नभए मुलुक अझै गरिब हुँदै जाने जानकारहरु बताउँछन् । भन्सार कर्मचारीको मिलेमतोमा राजस्व छलीका तामाका भाँडा गाउँमा बिक्री बढ्दै गएमा राज्यले अर्बौं रुपैयाँ बराबरको राजस्व गुमाउने अवस्था आउनेछ।

 

 

प्रकाशित: २५ फाल्गुन २०७४ ०१:२६ शुक्रबार