अर्थ

नेपाल किन घुम्ने ?

फाइल तस्बिर

‘हेभेन इज मिथ, नेपाल इज रियल’ अर्थात् ‘स्वर्ग मिथक हो, नेपाल यथार्थ’ भन्ने भनाई नेपालमा निकै चर्चित छ। नेपालको प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविकलगायतका विविधता र प्राकृतिक सुन्दरतालाई हेरेर लोभिएका मनले भनिएको यस कथनले नेपालमा निकै नै लोकप्रिय कमाएको छ।

पछिल्लो समय नेपाल पर्यटकीय गन्तव्यमा चर्चित मुलुकको रूपमा पनि विस्तार भइरहेको छ। गत वैशाखमा सिएनएनले विश्वको घुम्नुपर्ने देशमा नेपाल पनि समेटिएको थियो। नेपालको मुस्ताङलाई सिएनएनले २३ वटा घुम्नुपर्ने ठाउँको सूचीमा थियो। मुस्ताङलाई उच्च भेग तथा पर्वतीय पदयात्राका लागि प्रसिद्ध पौराणिक कालीन पदमार्ग रहेको भनी सिएनएनले उल्लेख गरेको थियो।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार ट्रेकिङ र पर्यटनमा विश्वव्यापी चर्चा कमाएको नेपालले पछिल्लो समय पर्यटन क्षेत्रको विकासको लागि सरकारले नयाँ–नयाँ काम गरिरहेको बताए। ‘एक्सेसेबल ट्रेल सुरु गरेको नेपाल दक्षिण एसियामै पहिलो मुलुक हो जसले फरक क्षमता भएका व्यक्तिका लागि पनि ट्रेलको परिकल्पना गरेको छ,’ उनले भने, ‘नेपालमा यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई पर्यटनमा व्यावसायिक रूपले संलग्न गराउने खेलेको भूमिकाले पनि नेपाल घुम्न पर्ने मुलुकमा पर्ने भनेर विश्वभर चिनिन थालेको छ।’

उनका अनुसार नेपालको पर्यटन इनोभेटिभ र युनिट भएको कारणले पनि विदेशी पर्यटकलाई नेपाल घुम्नु पर्ने रहर बढिरहेको छ। नेपालीको न्यानो व्ययभार विश्वकै उत्कृष्ट व्ययभारमा पर्ने जनाउँदै निर्देशक लामिछानेले प्राकृतिक, सांस्कृतिक, भौगोलिक विविधताले सुन्दर भएको कारण यसको आनन्द लिन विदेशीहरू नेपाल आउने दाबी गरे।  

विश्वमा ट्रेकिङ र पर्वतारोहणमा चर्चित  नेपालको पर्यटन क्षेत्र बिस्तारै फराकिलो बन्दै गएको छ। कोभिडले थला परेको पर्यटन क्षेत्र कोभिडपछि भने साहसिक पर्यटन, इको टुरिजम, बोर्ड टुरिजम, खानपान टुरिजम, स्पोर्टस टुरिजम, बटरफ्लाई टुरिजम, फ्लावार टुरिजम, मसरुम टुरिजम, हनि हन्टिङ पर्यटन लगायतका क्षेत्रहरूमा विकास भइसकेको छ। विस्तारित स्वरूपले  मुलुकको पर्यटनको सम्भावना फराकिलो बनाएको छ।

यस्तै ट्रिप एडभाइजरले पनि काठमाडौँलाई सन् २०२४ को पहिलो सूचीको घुम्नुपर्ने प्राकृतिक गन्तव्यको रूपमा राखेको छ। ट्रिप एडभाइजरले सातवटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस–२०२४’ मा काठमाडौँलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य –२०२४ मा राखेको छ।

ट्रिप एडभाइजरका अनुसार सन् २०२४ मा विश्वका  उत्कृष्ट १० प्राकृतिक गन्तव्य मध्ये काठमाडौँ एक नम्बरमा परेको हो। उत्कृष्टमध्ये उत्कृष्ट गन्तव्यका सात वटा वर्ग अन्तर्गत प्राकृतिक गन्तव्यमा काठमाडौँ नम्बर एकमा परेको छ। विश्वको विभिन्न गन्तव्य, आवास र रेष्टुरेन्टहरुमा भएको पर्यटकीय गतिविधिहरूको समीक्षा गरेर विचारहरू एकत्रित गर्छ।

संसारको कुल भूभागको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत क्षेत्रफल ओगटेको नेपाल नेसनल फाउन्डेसन फर डेभलपमेन्ट अफ इन्डिजिनियस नेसनालिटिज अनुसार नेपालमा ५९ प्रकारका विभिन्न आदिवासी समूहहरू रहेका छन्। मुलुकमा पर्यटक तान्न यो अर्को बलियो पक्ष हो। घले गाउँको गुरुङ र मगर समुदायहरूको सांस्कृतिक माहौल होस वा मुस्ताङको शेर्पा जातिको जीवनशैली तथा रहनसहन विदेशी पर्यटक सधैँ लालायित बनेका छन्।

यस क्रममा अमेरिकाको चर्चित अखबार ‘द न्यु योर्क टाइम्स’ ले सन् २०२४ मा विश्वभरका घुम्नुपर्ने गन्तव्यको सूचिमा नेपालको मुस्ताङलाई समावेश गरेको छ। अखबारले विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गर्दै घुम्नुपर्ने ठाउँको सूचिमा मुस्ताङलाई राखेको छ।

विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा सहित आठ हजार मिटर माथि अग्लो विश्वको चौध वटा हिमाल नेपालमा अवस्थित छ। यस्तै धार्मिक रूपमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र हिन्दुहरूको धर्म स्थान पशुपतिनाथ पनि नेपाल घुम्न आउने अर्को प्रमुख कारण हो। हिमाल, मठमन्दिर, नदीनाला, डाँडाकाँडा, भेसभुसा, जातजाति, कला संस्कृति, खानपिन, पाहुनाको सत्कार जस्ता भावना पक्षले विश्वमै परिचय बनाएको छ।

पर्यटन घुम्नुसँग मात्र सम्बन्धित छैन। रोजगारी, व्यवसाय, लगानी, विदेशी मुद्रासँग जोडिएको छ। पर्यटनले रोजगारी सिर्जना गर्छ। व्यवसाय विस्तार र यसमा लगानी भित्राउँछ। विदेशी मुद्रा सञ्चित गर्छ। राष्ट्रिय गार्हस्थ्य उत्पादनको क्षेत्रमा पर्यटन क्षेत्रको करिब ११ प्रतिशत योगदान छ। पथ प्रदर्शक, हिमाल आरोहण, होटेल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ, पथ प्रदर्शक, हवाई उड्डयन, हस्तकला उद्योग, मूर्तिकला, प्याराग्लाइडिङ, ¥र्याफ्टिङ, लगायत व्यवसायहरू सबै पर्यटनसँग सम्बन्धित छ।

दिगो र दीर्घकालीन पर्यटन विकास गर्न पछिल्लो समय सरकारले पुरानो गाउँको खोजी गरिरहेको छ। पर्यटन प्रबद्र्धनको लागि सरकारले ६० भन्दा धेरै पुरानो गाउँहरू खोजिरहेको छ। सरकारले नेपालको पर्यटन प्रकृति, संस्कृति र साहसिक पक्षको भएकोले पुरानो गाउँ खोजी गरेर नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने कार्यविधि तयार गरिरहेको छ। यस कार्यले पनि नेपालको प्राचीन सम्पदा सम्पन्न गाउँहरूको पहिचान हुने र पर्यटकलाई थप आकर्षक गर्छ।

अन्तर्राष्ट्रिय पर्यटकलाई गुणस्तरीय सेवा, सुविधाले पनि आकर्षित गर्छ। नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय चेन होटेलहरू पनि धमाधम खुलिरहेका छन्। चेन होटेलहरूको निमार्णले अमेरिका, बेलायत, जर्मन, इटली लगायतका समृद्ध मुलुकका खर्चालु पर्यटकका लागि पनि प्रशस्त ठाउँहरू दिएका छन्।

पर्यटकहरू आफ्नो इच्छा अनुसार घुम्न निस्कने बताउँदै होटेल एसोसिएसन नेपाल ९हान० का अध्यक्ष विनायक शाहले विभिन्न अन्तर्राष्ट्रिय प्लाटफर्महरुले नेपालको पर्यटनको क्षमता र सुन्दरतालाई बिस्तारै पहिचान गरेको बताए। ‘नेपाल ट्रेकिङ र माउन्टेनरिङको लागि स्वर्ग हो,’ उनले भने, ‘नेपालको जस्तो नेचुरल ल्याण्ड स्केप र फ्रेण्डली सुरक्षा प्रणाली विश्वमा सायदै पाइन्छ, यसैले नेपाल घुम्नका लागि  सजिलो  छ।’

नेपालीको व्ययभार पनि पर्यटक लोभिने अर्को बलियो र सुन्दर पक्ष भएको अध्यक्ष शाहले बताए। ‘हामी नेपाली जे गर्छौ मनले गर्छौ, हामीसँग केही नभए पनि अरूलाई हरदम सहयोग गर्ने बानीले पनि धेरै विदेशीलाई नेपालप्रति आकर्षित गरेको छ,’ उनले भने, ‘कोही नेपाली कुनै पनि विदेशीप्रति खराब नदेखिनु पटक पटक पर्यटक आउने अर्को सबल पक्ष हो।’

अध्यक्ष शाहका अनुसार नेपाल आयने पर्यटकले गरेको खर्चमा पाउने सेवा सुविधाको सन्तुष्टि पनि पछिल्लो समय नेपालमा पर्यटक वृद्धि हुनुको अर्को कारण हो।

प्रकाशित: १४ माघ २०८० १३:१८ आइतबार

पर्यटकीय गन्तव्य सिएनएन विश्वको घुम्नुपर्ने देशमा नेपाल