अर्थ

त्रिशूली १ ले मुआब्जा बाँड्यो

रसुवा– जिल्लामा निर्माणाधीन माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गरेको छ।

आयोजनाको भवन निर्माणका लागि अधिग्रहण गरेको ४१ रोपनी जग्गाको मुआब्जा वितरण गरेको हो । आयोजनाले सातजना जग्गाधनीलाई पाँच करोड रुपैयाँ वितरण गरेको आयोजनाका जनसम्पर्क अधिकृत सुमन भट्टले बताए।

‘यसअघि निर्माण भएको भवन भूकम्पले पूर्ण क्षति गर्‍यो,’ जनसम्पर्क अधिकृत भट्टले भने, ‘अहिले सुरक्षित स्थानमा जग्गा किनेका छौं ।’ भूकम्पका कारण झरेको पहिरोले संरचनामा पूर्ण क्षति पुर्‍याएको थियो । पहिरोको कारण जोखिम बढेपछि सुरक्षित स्थानमा जग्गा खरिद गरिएको आयोजनाले जनाएको छ ।

नेपाल वाटर एन्ड डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भइसकेको छ । दुई सय १६ मेगावट क्षमताको यो आयोजनाको अनुमानित लागत ६२ अर्ब रुपयाँ छ ।
आयोजनाले अहिले वित्तीय व्यवस्थापन गर्ने काम गरिरहेको छ । वित्तीय व्यवस्थापन सेप्टेम्बरसम्ममा सकिने र निर्माण प्रक्रिया सुरु हुने भट्टले जानकारी दिए । अबको दुई हप्तापछि पूर्वाधारको काम सुरु हुने उनले बताए।

कोरियन कम्पनीहरु, विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) र स्वदेशी लगानीकर्ताको सेयर रहने आयोजनाले जनाएको छ । यो आयोजना करिब पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाले अहिले आयोजनामा आवतजावत गर्ने सडकको सुधार, पूर्वाधार निर्माण लगायतको कार्यलाई तीव्रता दिएको छ । जिल्लाको उत्तरगया गाउँपालिका–१ मैलुङमा उक्त आयोजना निर्माण हुनेछ । आयोजनाले प्रभावित क्षेत्रमा पर्ने धुन्चे, राम्चे र हाकुका विद्यालयलाई कम्प्युटर प्रदान गर्न लागेको छ ।

प्रकाशित: २४ फाल्गुन २०७४ ०२:३४ बिहीबार