अर्थ

सात महिनामा २६ अर्बको चामल, मकै र गहुँ आयात

भैरहवा  – लगातार दुई वर्ष धान उत्पादन बढे पनि खाद्यान्नको परनिर्भरता घट्न सकेको छैन। अघिल्ला वर्षहरुको तुलनामा गत वर्ष र यो वर्ष धान र गहुँको उत्पादन बढेको सरकारी तथ्याक छ।

आन्तरिक उत्पादन बढेसँगै आयात कम हुने आस गरिए पनि चामल, मकै, गहुँ जस्ता मुख्य खाद्यान्न आयात बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामै चामल, मकै र गहुँका लागि झन्डै साढे २६ अर्ब रुपैयाँ बिदेसिएको छ ।गत साउनदेखि माघ मसान्तसम्मको सात महिनामा २६ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ मूल्यको अन्न आयात भएको विभागले जनाएको छ।

गत वर्षको तुलनामा यसपटक तीन अर्ब रुपैयाँ बढीको खाद्यान्न आयात भएको भन्सार विभागको तथ्यांक शाखाका निर्देशक विनोदशरण आचार्यले बताए । गत आर्थिक वर्ष ०७३-७४ का सात महिनामा २३ अर्ब ५८ करोड ७९ लाख ९८ हजार रुपैयाँको चामल, गहँु र मकै आयात भएको थियो।

बितेका सात महिनामा १७ अर्ब २० करोड ५६ लाख ४५ हजारको करिब चार लाख टन चामल आयात भएको छ । गत वर्ष सोही अवधिमा करिब १४ अर्ब रुपैयाँको चामल आयात भएको थियो । यो वर्ष ६ अर्ब ९३ करोडको भारतीय मकै नेपाल भित्रिएको छ । दुई अर्ब १५ करोड मूल्य बराबरको गहुँ आयात भएको छ । यसका अलावा अर्बौंको आलु, प्याज, हरियो तरकारी, तेल, घिउ, दाल गेडागुडी, फलफूल जस्ता कृषिजन्य वस्तु  आयात भइरहेको भन्सार विभागले जनाएको छ।

नेपालमा आयात हुने खाद्यान्नमध्ये ९९ प्रतिशत भारतबाट र एक प्रतिशत अन्य मुलुकबाट आउने विभागका निर्देशक आचार्यले बताए । नेपालमा सबैभन्दा धेरै अन्न आयात हुने नाका भैरहवा हो । यो नाकाबाट मात्रै सात महिनामा ६ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात भएको छ । यहाँबाट ठूलो परिमाणमा भारतीय  चामल, हरियो तरकारी र आलु, प्याज भित्रिन्छ । वीरगन्ज, विराटनगर, नेपालगन्ज लगायत नाकाबाट तेल, दाल तथा गेडागुडीको आयात उच्च छ।
किन घट्दैन खाद्यान्नको परनिर्भता ?
नेपालमै उत्पादनको प्रशस्त सम्भावना हुँदाहुँदै पनी बर्सेनि अर्बौंको खाद्यान्न अयात भइरेको छ । मागको तुलनामा उत्पादन बढ्न नसकेकै कारण आन्तरिक उत्पादन बढेको भनिएका वर्षमा समेत चामल, मकै र गहुँका लागि अर्बौं रुपैयाँ बिदेसिएको हो । धान उत्पादन बढेको भनिएका वर्षमा समेत चामलको आयात उच्च हुनु चिन्ताको विषय भएको बुटवल बहुमुखी क्याम्पसका सहप्रध्यापक नुरजंग केसी बताउँछन् । यसमा सरकारी अदूरदर्शिता, युवाको विदेश पलायनसँगै कृषि शिक्षाको अभाव मुख्य कारण भएको उनको ठहर छ।

कृषिमा जबसम्म नयाँ सोच, आधुनिक प्रविधि र युवा जोश मिसिँदैन तबसम्म खाद्यान्नमा आत्मनिर्भर हुन नसकिने तर्क गर्छन् राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाका कृषि विज्ञ नुतनराज गौतम । कृषिलाई सम्मानजनक पेसाको रुपमा स्थापित गराउँदै युवा पुस्तालाई यसमा आकर्षित गराउने खालका कार्यक्रम ल्याउनेतर्फ केन्द्र र प्रदेश सरकारको ध्यान जानुपर्ने गौतमले सुझाए ।खाद्यान्नको परनिर्भता बढ्नुको अर्को मुख्य कारण अन्न भण्डारको रुपमा रहेको तराईको उर्वर भूमि खण्डीकरण र अव्यवस्थित सहरीकरणको चपेटामा पर्नु हो।

मकै, कोदो, फापर फल्ने पहाडका खेतबारी बाँझै छाडेर बिदेसिने या बसाइँ सरेर तराई झर्ने क्रम बढदो छ । प्रतिहेक्टर उत्पादन बढे पनि खेतीयोग्य जमिन गैरकृषिमा प्रयोग हुने क्रम नरोकिँदा खाद्यान्नको परनिर्भता बढ्दै गएको रुपन्देहीका कृषि विकास अधिकारी भोजराज सापकोटाले बताए । त्यस्तै कृषिमा यान्त्रीकरण र आधुनिकीकरण हुन सकेको छैन । खेती लगाउन बर्खा, हिउँद बाह्रैमास अकासे पानीको भर पर्नुपर्ने अवस्था छ । किसानले चाहिएका बेला उन्नत बीउबिजन, मलखाद पाउँदैनन् । कृषि बजेट तथा दातृ संस्थाको सहकार्यमा सञ्चालित अनुदानका कार्यक्रम वास्तविक किसानमाझ पुग्न नसकेको गुनासो साना किसानको छ।

जग्गा दलालीमा लागेका र किसान संगठनका नाममा राजनीति गर्नेहरुले बजेट कुम्ल्याउने परिपाटी जिल्ला–जिल्लामा बढ्दै गएको छ । यस्ता समस्या निराकरण गर्दै कृषि क्षेत्रको दिगो विकास र खाद्यान्नमा आत्मनिर्भर बन्न राज्यले प्रभावकारी कृषि नीति बनाउनुपर्नेमा कृषिविज्ञ गौतमले जोड दिए।

प्रकाशित: २४ फाल्गुन २०७४ ०२:१७ बिहीबार