अर्थ

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विधुत् विस्तार

 काभ्रेका तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विद्युतीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम दुई र मध्य दुर्गम एक गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार गरिएको हो।

दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विधुत्तीय सेवा विस्तारलाई तीव्रता दिइएको छ। यसअघि यी गाउँपालिकाको अधिकांश क्षेत्रमा स्थानीय लघु जलविद्युत् आयोजनाद्वारा बिजुली बालिएको थियो। हाल कतिपय लघु जलविद्युत् आयोजना बन्द अवस्थामा छन् भने केही जेनतेन चलिरहेका छन्।

स्थानीयस्तरमा सञ्चालनमा ल्याइएको लघु जलविद्युत्ले आवश्यकताअनुसार विद्युत्को माग पूरा गर्न नसकेपछि प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तारलाई तीव्रता दिएको हो।

‘लघु–जलविद्युत् मर्मतसम्भार हुन नसक्दा यिनले धान्न सकेनन्, स्थानीयस्तरमा साना उद्योग स्थापना तथा अन्य उपकरण सञ्चालनका लागि विद्युत्को माग बढ्दै गएपछि केन्द्रीय प्रसारण लाइन विस्तारमा जोड दिएका हौं’, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने। उाका अनुसार केन्द्रीय प्रसार लाइन जोडिएपछि पहिले झैं पटकपटक अन्धकारमा बस्नुपर्ने छैन।

प्राधिकरणको बनेपास्थित वितरण केन्द्रप्रमुख इञ्जिनियर अमृत अधिकारीले जिल्लाको दक्षिणी क्षेत्र डाँडापारी क्षेत्रका महाभारत, खानीखोला गाउँपालिकामा हाल केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउन धमाधम काम भइरहेको जानकारी दिए।

उनका अनुसार प्राधिकरणले महाभारतको वडा नं ३, ४, ५, ६ र ७ मा करिब दुई हजार घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् बलेको छ। वडा नं १ मा करिब तीन सय थान मिटर पठाउने तयारी भइरहेको बताउँदै अधिकारीले वडा नं २ र ८ मा लाइन विस्तारको काम भइरहेको बताए।

केन्द्रका अनुसार डाँडापारीकै अर्को क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामासमेत केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउने काम थालिएको छ। खानीखोलाको ५ र ७ नं वडा का केही घरमा विद्युत् लाइन पु¥याइसकिएको केन्द्रका सूचना अधिकारी ई सुरोज पराजुलीले बताए।

उनका अनुसार खानी खोलाका दुई वडाका करिब एक हजार घरमा उक्त विद्युत् पुगेको हो। गाउँपालिकाको अन्य बस्तीमा लाइन विस्तार गर्दै जाने योजना केन्द्रको छ। खानीखोला ५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले दुई सय ६७ मिटर गाउँमा आइपुगेको बताउँदै लाइन जोड्ने काममा केही ढिलाइ भएको बताए।

बुद्धिबहादुरका अनुसार ठेकेदार कम्पनीले बिगे्रको ट्रान्समिटर जोडेका कारण एक सयभन्दा बढी घरमा विद्युत् सेवा पुगेको छैन। यस्तै वडा नं ५ मै आफ्नो घरमा केन्द्रीय प्रसारण विद्युत् जोडिदिन तीन सय २२ स्थानीयले मिटरका लागि निवेदन दिएको स्याङ्तानले जानकारी दिए।

यसैगरी रोशी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको जनाइएको छ। हालै वडा नं ११ भीमखोरीस्थित छहरे, भैंसे, पौवा, भदौरे, मानेगाउँ, अमलाबासको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली बत्ती बालिएको हो। यसअघि छ सय १२ घरधुरीमा जडान भइसकेको वडाध्यक्ष लालकुमार पाख्रिनले बताए।

उनका अनुसार उक्त वडामा करिब ७८ घरमा लाइन जडान गर्न बाँकी छ भने केही घरमा सामुदायिक विद्युतीकरण विद्युत् जडान गरिएको छ। स्थानीयलाई रोशी गाउँपालिकाले निःशुल्क विद्युत् मिटर वितरण गरेको थियो। वडा नं ११ र १२ का करिब १५० सय घरमा उक्त प्रसारण लाइन पुर्‍याउन बाँकी रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।

उनका अनुसार वडा नं १२ मा पनि सामुदायिक विद्युतीकरण गर्दा छुटेका करिब ५० घरमा केन्द्रीय प्रसारण लाइन विस्तारको योजना बनाइएको छ। –रासस

प्रकाशित: १२ माघ २०८० ०३:४१ शुक्रबार

महाभारत विधुत् विस्तार तीन गाउँपालिका विद्युत् प्राधिकरण रोशी गाउँपालिका खानीखोला लघु जलविद्युत्