अर्थ

कृषिबाट बर्सेनि ४ करोड कारोबार

कृषक रुमलाल कँडेल आफूले लगाएको आलुखेती नियाल्दै। तस्बिर:मोहन गुरुङ/नागरिक

स्याङजा– स्याङजाको गल्याङ नगरपालिका–११, जिमुवाका कृषकले बर्सेनि करिब ४ करोड आर्थिक करोबार गर्छन् । करिब दुई सय ५० हेक्टर क्षेत्रफलमा लगाएको विभिन्न नगदे तथा खाद्य बालीबाट भएको आम्दानीले उनीहरू कारोबार गर्न सफल भएका हुन्। कृषिमा जिल्लाकै नमुना क्षेत्र भनेर जिमुवा क्षेत्रलाई चिनिन्छ।

जिमुवाका कृषकले करिब दुई सय हेक्टर क्षेत्रफलमा आलु लगाएका छन् भने ५० हेक्टरमा विभिन्न प्रकारका तरकारी खेती गरेका छन् । विशेषगरी बिउ आलु (जनकदेव) उत्पादनलाई त्यहाँका कृषकले प्राथमिकता दिन्छन् । जिमुवा बिउ आलु, बिउ मकै र बिउ धानका लागि प्रसिद्ध छ।

गत वर्ष चार सय मेट्रिक टन खाइन आलु, दुई सय मेट्रिक टन बिउ आलु, ३० मेट्रिक टन बिउ मकै र ४० मेट्रिक टन बिउ धान (सावित्री) बिक्री गरेको कृषकले जानकारी दिए । 

६ सय मेट्रिक टन मकैको आम्दानीबाट करिब ३ करोड रुपैयाँ, ३० मेट्रिक टन बिउ मकैबाट २२ लाख ५० हजार र ४० मेट्रिक टन धानबाट १६ लाख ८० हजार रुपैयाँ रमौसमी तरकारीबाट करिब २५ लाख रुपैयाँ आम्दानी हुने जिमुवा कृषि उपज कृषक सहकारी संस्थाको तथ्यांकमा उल्लेख छ । घिरौंला, लसुन, करेला, लौका, काउली र बन्दागोबी त्यहाँका प्रमुख तरकारी हुन् । यो वर्ष ४ करोड रुपैयाँभन्दा बढीको करोबार गर्ने लक्ष्य छ ।

गाउँका सबै कृषकलाई कृषिमै आत्मनिर्भर बनाउने अभियानमा छन् जिमुवा कृषि उपज कृषक सहकारी संस्थाका अध्यक्ष रुमलाल कँडेल । सहकारीका ५६ जना सेयर सदस्यले अनिवार्य रूपमा बिउ आलु, बिउ मकै र बिउ धानलगायत विभिन्न प्रकारका तरकारी उत्पादन गर्नैपर्ने अभियान चलाएका छन् । 

अध्यक्ष कँडेलले करिब ५० रोपनी क्षेत्रफल जमिनमा विभिन्न कृषि व्यवसाय गर्दै आएका छन् । कँडेलले आलु, मकै, धान, कुखुरापालन र इँटाभट्टा सञ्चालक पनि हुन् । कँडेल जिल्लाकै उत्कृष्ट कृषक मात्र होइनन्, सफल व्यवसायी पनि हुन् ।
‘बजार अभाव र भण्डारणको अभाव कारण अझै उत्पादनमा कमी आएको छ,’ अध्यक्ष कँडेल भन्छन्, ‘बजार र भण्डारणसहित राज्यले गरिखाने वातावरण बनाइदिनुपर्यो ।’सरकारले कृषकलाई अनुदानतर्फ आकर्षण गर्नु भन्दा आफ्नो पेसा व्यवसायप्रति आत्मसन्तुष्टि हुने खालको कार्यक्रम ल्याउनुपर्ने कँडेलको भनाइ छ । 

सो वडाकै कृषक चन्द्रकान्त डुम्रे पनि सफल कृषक हुन् । उनले करिब ३० रोपनी जग्गामा खेती गर्दै आएका छन् । डुम्रेले पनि आलु, मकै, धान, तरकारीमा घिरौंला, लसुन, करेला र लौका मौसमअनुसारको खेती गर्छन् । उनले वार्षिक १० लाख रुपैयाँ खुद नाफा गर्ने जानकरी दिए । 

२०६६ सालदेखि कृषिपेसामा लागेका डुम्रे राज्यले आफूलाई होइन, आपूmले राज्यलाई सहयोग गर्न चाहने बताउँछन् । ‘देशले मलाई के दियो भन्ने भन्दा मैले देशलाई के दिएँ भन्ने हो,’ उनले भने, ‘राज्यलाई सहयोग गर्ने दायित्व मेरो पनि हो ।’ 
धेरै कमाउने सपना बोकेर जापान, मलेसिया, दुबई, सिंगापुर र भारत पुगेका डुम्रे विदेशमा १२ घण्टा पसिना बगाउनु भन्दा नेपालमै १८ घण्टा पसिना बगाउन पाउँदा खुसी भएको बताउँछन् ।

जिमुवाका कृषकहरूले आपूmले उत्पादन गरेको वस्तुको बजारीकरण र भण्डारण व्यवस्था गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारसँग अनुरोध गरेका छन् । भविष्यमा भण्डारण बनाउने लक्ष्य रहेका जिमुवाको कृषहरूले जानकारी दिए ।

गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले आफू जनप्रतिनिधि मात्र नभई कृषक पनि भएकाले गल्याङ नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने अभियानमा लागेको बताउँछन् । ‘देशको समृद्धि कृषिबाट मात्र सम्भव छ,’ अधिकारीले भने, ‘गल्याङ कृषिमा नमुना नगरपालिका बन्नेछ ।’

आलु नेपालको प्रमुख तरकारी तथा खाद्यान्न बाली हो । यो बालीलाई छोटो समयमा करिब ९०–१०० दिनमा बाली दिने बालीका रूपमा चिनिन्छ। संयुक्त राष्ट्रसंघले सन् २००८ लाई आलु वर्षको रूपमा घोषण गरेको थियो । 

प्रकाशित: २१ फाल्गुन २०७४ १०:०० सोमबार

कृषिबाट बर्सेनि करोड कारोबार