आर्थिक वर्ष २०७९/८० को ६ महिनाको तुलनामा चालु आव २०८०/८१ को सोही अवधिमा काठको निकासीमा झन्डै एक लाख क्युबिक फिटले कमी आएको छ।
डिभिजन वन कार्यालयका नायव सुब्बा युवराज पौडेलका अनुसार चालु आवको पुस मसान्तसम्ममा पाँच लाख तीन हजार ६ सय ४६ क्युविक फिट काठ निकासी भएको छ।
अघिल्लो आवको सोही अवधिमा ६ लाख ६६ हजार आठ सय ३० क्युविक फिट काठ निकासी भएको थियो। अघिल्लो आवको ६ महिनाभन्दा चाल आवको सोही अवधिमा एक लाख तीन हजार एक सय ८४ क्युविक फिट काठ कम निकासी भएको छ।
निकासी कम हुँदा कार्यालयले असुल गर्ने मूल्य अभिवृद्धि कर बापतको रकमसमेत घटेको छ। प्रदेश सेवा शुल्क भने गत आवको भन्दा चालु आवको ६ महिने अवधिमा झिनो रकमले वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा काठ निकासीको मूल्य अभिवृद्धि करबापत एक करोड ९८ लाख ५७ हजार सात सय ८० रूपैयाँ असुल भएको छ।
अघिल्लो आवको सोही अवधिमा मूल्य अभिवृद्धि करबापत कार्यालयले दुई करोड ६० लाख तीन हजार पाँच सय ९६ रूपैयाँ असुल गरेको थियो। प्रदेश सेवा शुल्कबापत भने चालु आवको छ महिने अवधिमा १४ लाख ८९ हजार तीन सय ५६ रूपैयाँ असुल भएको छ। अघिल्लो आव २०७९/८० को सोही अवधिमा प्रदेश सेवा शुल्क बापत १३ लाख ३६ हजार तीन सय ३९ रूपैयाँ असुल भएको थियो।
डिभिजन वन कार्यालयका अनुसार आव २०७९/८० मा १४ लाख ५६ हजार १९५.१५ क्युबिक फिट काठ निकासी भएको थियो। आव २०७८।७९ भरिमा नौ लाख ७९ हजार चार सय ४५ क्युविक फिट मात्र काठ निकासी भएको थियो।
डिभिजन वन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी छोडपूर्जी तथा कटान आदेश दिनेगर्छ। यहाँबाट सबैभन्दा बढी निजी तथा आवादी जमिनमा रहेको उत्तिस प्रजातिको काठ निकासी हुने गरेको छ।
यस्तै चिलाउने, मौवा, सिमल, चाँप, कटुस, मलातो, सिरिस, बाङ्गी काठ, पानीसाज, लप्सीसहितका प्रजातिको काठ निकासी हुने गरेको छ। उत्तिसको तुलनामा अन्य प्रजातिको काठको निकासी कमै मात्र हुने गरेको समेत डिभिजन वन कार्यालयले बताएको छ।
प्रकाशित: ११ माघ २०८० ०२:२७ बिहीबार