अर्थ

बैंकहरुले प्रडक्टबेस कर्जालाई प्राथमिकता दिनुपर्छ: अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महत अब बैंकहरुले धितोबेस कर्जा भन्दा पनि प्रडक्टबेस कर्जालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको सुनाए।

उनले बैंकहरु पनि कर्जा भन्दा बढी धितो लिएर कर्जा लगानी गरेकाले ढुक्क बस्ने गरेको बताउँदै अब बैंकहरुले पनि धितोबेस कर्जा भन्दा पनि प्रडक्ट अर्थात् आयोजनाबेस भएर कर्जा प्रवाह गर्न आवश्यक रहेको औंल्याए।

अर्थमन्त्री डा.महतले बैंकहरुले प्रोडक्टबेस कर्जा दिँदा कर्जा दिन लायक परियोजना भए/नभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने जिकिर गरे। उनले प्रोजेक्टबेस कर्जामा बैंकहरु जाने हो भने बिस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्ने दाबी समेत गरे।

मन्त्री डा.महतले मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको दाबी गरे। तर आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको भएपनि सरकारले सोचेको जस्तो नभएको स्वीकार गरे। 

उनले मुलुकको आवश्यकताहरु धेरै तर सरकारसँग साधन स्रोतहरू थोरै भएकाले धेरै आवश्यकताको बीचमा थोरै साधन स्रोत हुँदा प्राथमिकिकरण नपुगेको सुनाए।

प्रकाशित: १० माघ २०८० १२:४४ बुधबार