अर्थ

एटिएम कार्डबाट पैसा निकाल्दा चर्को शुल्क असुली

काठमाडौं – बैंकहरुले एटिएमबाट पैसा निकाल्दा चर्को शुल्क लिँदै आएका छन् । एटिएमबाट रकम निकाल्दा प्रतिकारोबार तीन सयसम्म प्रयोगकर्ताले तिर्नुपर्ने बाध्यता छ।

एउटा बैंकको कार्ड सोही बैंककै एटिएम बुथमा प्रयोग गर्दा कुनै शुल्क नलागे पनि त्यही बैंकको कार्ड अर्को सदस्य बैंकको एटिएम बुथमा प्रयोग गर्दा हरेक कारोबारमा २० रुपैयाँ र मौज्दात विवरणमा पाँच रुपैयाँ लिने गरेका छन् ।
एउटा बैंकको कार्ड सदस्य बुथबाहेक अन्यमा प्रयोग गर्दा हरेक कारोबारमा एक ५० रुपैयाँ र मौज्दात विवरणमा ५० रुपैयाँ लाग्ने गरेको छ।

नेपालको कुनै एउटा बैंकको कार्ड भारतका बुथमा प्रयोग गर्दा हरेक कारोबारमा दुई सय रुपैयाँ सटही शुल्क (०.१५ प्रतिशत कारोबार गरिएको रकमको) र मौज्दात विवरण गर्दा ५० रुपैयाँ लाग्ने गरेको छ।

नेपालको कुनै एउटा बैंकको कार्ड नेपाल र भारतबाहिरका बुथमा प्रयोग गर्र्दा अमेरिकी डलर पाँच वा हरेक कारोबारको ०.५ प्रतिशत र मौज्दात विवरण लिँदा अमेरिकी डलर ०.७५ लाग्ने गरेको छ। 

एकातिर एटिएम प्रयोग गरेबापत लिइने सेवा शुल्क बढ्दै गएको छ भने अर्कोतिर एटिएमहरु असुरक्षित पनि त्यत्तिकै हुँदै गएका छन् ।
ग्राहकले सुरक्षाका सामान्य उपाय पालना नगरेका कारण पनि एटिएम कार्डको प्रयोग पछिल्लो समय असुरक्षित हुन पुगेको छ।

खासगरी, आफ्नो कार्ड आफैसँग सुरक्षित नराख्ने, दोस्रो व्यक्तिलाई कार्ड दिने वा साट्ने गर्नाले पनि एटिएम कार्डबाट हुने कारोबार असुरक्षित हुन पुगेको हो।

एटिएम मेसिनमा अरु कसैले हेरिरहेको छ, छैन सुनश्चित गरेर मात्र पिन नम्बर थिच्ने गरे मात्र पनि एटिएमको कार्डको दुरुपयोगमा कमी आउने बैंकरको भनाइ छ । पिन नम्बर मोबाइलमा सेभ गर्ने वा अन्यत्र कतै लेखेर राख्ने गरेकाले पनि एटिएम कार्डबाट अर्को व्यक्तिले रकम निकाल्ने गरेको पाइन्छ।  

समयसमयमा पिन नम्बर परिवर्तन गरियो भने पनि एटिएम कार्ड दुरुपयोग हुनबाट जोगिने बैंकर बताउँछन् । दोस्रो व्यक्तिलाई पिन नम्बर भन्ने गरेका कारण पनि समस्या आउने गरेको छ।

आफूले गरेको हरेक कारोबार खाता विवरण र स्टेटमेन्ट समयसमयमा चेकजाँच गर्दा पनि रकम सुरक्षित छ कि छैन भन्ने थाहा पाउन सकिन्छ । ‘पिन नम्बर र एटिएम कार्ड सँगै राखेका कारण पनि समस्या पर्छ,’ एक बैंकरले भने, ‘कार्ड हराएर मात्र फरक पर्दैन तर पिन नम्बर पनि सँगै राख्दा रकम निकाल्न सजिलो हुन्छ।’

एटिएम काउन्टरभित्र अर्को कुनै व्यक्ति भएमा कारोबार गर्न नहुने बैंकर बताउँछन्। कारोबार गर्नुअघि कसैले हेरिरहेको छ कि छैन, एकपटक सुनिश्चित गरेर मात्र कारोबार गर्नुपर्ने सुझाव उनीहरुले दिएका छन्।

एटिएम काउन्टरमा केही शंका महसुस भयो भने त्यो काउन्टर प्रयोग नगरी सम्बन्धित बैंकलाई जानकारी गराउनुपर्ने सुझाव बैंकरले दिने गरेका छन्।

८० को दशकमा बैंक तथा वित्तीय संस्थाले सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले पहिलोपटक एटिएम कार्ड प्रयोगमा ल्याइएको थियो । करिब तीन दशकको यो अवधिमा एटिएम प्रयोगकर्ता ह्वातै बढ्न पुगेका छन् । कार्डको प्रयोगबाट नगद बोक्ने झन्झट अन्त्य भएको छ।

देशको कुल जनसंख्याको १५ प्रतिशतभन्दा बढीले एटिएम कार्ड प्रयोग गरिरहेको बताइन्छ । तर, एउटा मानिसले एउटा कार्ड मात्र प्रयोग गरेको मान्यताका आधारमा यो संख्या निकालिएको हो । एक व्यक्तिले दुई वा सोभन्दा बढी एटिएम कार्ड प्रयोग गरेको भए सो संख्यामा उल्लेखनीय कमी आउने छ।

एटिएम कार्ड नगद झिक्न वा पस (पोइन्ट अफ सेल) मेसिनबाट बिनानगद सिधै वस्तु वा सेवा खरिद गर्नमा प्रयोग गरिन्छ । तर, एटिएम नगदभन्दा वस्तु खरिद गर्न कम प्रयोग गर्ने गरेको बैंकरहरु बताउँछन् । नेपाल बैंकर्स सघंकका अध्यक्ष एवं नेपाल–बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने, ‘एटिएमबाट वस्तु खरिद गर्न सकिने भए पनि एटिएममा गएर पैसा निकाल्ने बानी छ।’

एटिएम प्रयोगमा बैंकिङ समयको सीमा नभए पनि २४ घन्टा सेवा उपलब्ध गराउने मेसिनको सुविधा भने सर्वसुलभ हुन सकेको छैन । काठमाडौंमा सामान्यतया एटिएम सुविधा विहान ६ देखि राति १० बजेसम्म उपलब्ध गएको देखिन्छ भने कतैकतै २४ सै घन्टा सुविधा पनि उपलब्ध छ । बैंकका एक सुरक्षाकर्मी भन्छन्, ‘सुरक्षा र बत्तीका कारण पनि रातिमा एटिएम सुविधा दिन सकिएको छैन।’

प्रकाशित: २० फाल्गुन २०७४ ०७:३८ आइतबार

एटिएम कार्डबाट पैसा निकाल्दा चर्को शुल्क असुली