अर्थ

कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव: १९ अर्ब सहुलियत कर्जा प्रवाह

कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ। बैंकको वार्षिकोत्सवमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहे पनि विस्तारै अर्थतन्त्रमा देखिएका उतारचढावबाट समाधान हुँदै गएको बताए।

अधिकारीले समग्र अर्थतन्त्रलाई कतिपयले नकारात्मक रूपले हेर्ने गरेको र निर्माण सुस्त भएका कारण ठूला उद्योगमा असर परेको भए तापनि अर्थतन्त्र सोचेजति नकारात्मक नभएको दाबी गरे।

बैंकले चालु आर्थिक वर्षमा अनुपालन तथा सुशासनमा शून्य सहनशीलता नीति अपनाउँदै मानव संसाधन विकासमा जोड दिई बैंकका गतिविधिलाई चुस्त दुरुस्त बनाउँदै आएको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।

बैंकको कुल अधिकृत पुँजी २५ अर्ब, जारी पुँजी १८ अर्ब ८८ करोड ४३ लाख रूपैयाँ रहेको छ। बैंकले हालसम्म एक लाख ५० हजार ग्राहकलाई एक खर्ब ८९ अर्ब कर्जा लगानी गरेको छ।

त्यसैगरी, १९ लाख निक्षेपकर्ताको दुई खर्ब ११ अर्ब रूपैयाँ निक्षेप परिचालन गरेको छ। बैंकले  विभिन्न क्षेत्रमा १८ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ सहुलियत कर्जा प्रवाह गरेको छ।

कृषि विकास बैंकको विशिष्टतालाई कायम राख्दै बैंकले २८१ शाखाहरू र २२ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा दिँदै आएको छ। ७७ वटै जिल्लाहरूबाट बैंकिङ कारोबार सञ्चालन गर्दै आएको बैंकले ४९ भन्दा बढी कार्यालयमा लकर सेवा, १२९ एटिएम, १६ वटा शाखाबाट वैदेशिक विनिमय कारोबार, ८० वटा शाखाबाट राजस्व खाता सञ्चालन तथा ६१ वटा शाखाबाट स्थानीय निकायको खाता सञ्चालन गरेको छ।

देशको कृषि क्षेत्रको विकासको लागि आवश्यक पर्ने वित्तीय एवं प्राविधिक सेवा उपलब्ध गराउँदै कृषि क्षेत्रलाई व्यावसायीकरण गर्ने मूल उद्देश्यका साथ २०२४ सालमा कृषि विकास बैंक ऐन २०२४ बमोजिम स्थापना भएको थियो।

कृषि विकास बैंकले ग्रामीण अर्थतन्त्रको विकासका लागि योगदान पुर्‍याउँदै आएको छ। ग्रामीण विकास र गरिबी निवारण कार्यक्रम मार्फत सीमान्तकृत वर्गको आर्थिक उत्थान गर्ने कार्यक्रम सुरु गरेको बैंकको गर्विलो इतिहास रहेको छ।

बैंकले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक प्रविधिमार्फत व्यावसायिकरण गर्दै ग्रामीणक्षेत्रको विकास तथा गरिबी न्यूनीकरणद्वारा मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने कार्यमा सघाउँदै आएको छ।

आधुनिक प्रविधिमार्फत बैंकसँग सेवाग्राहीलाई जोड्न बैंकले डिजिटाइजेसनको अवधारणा अवलम्बन गर्दै पूर्ण प्रविधियुक्त भरपर्दो र सुरक्षित डिजिटल बैङ्किङ प्लेटफर्महरूमार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित: ८ माघ २०८० ०१:५१ सोमबार

१९ अर्ब सहुलियत कर्जा प्रवाह कृषि विकास बैंकको ५६औं वार्षिकोत्सव पूर्ण प्रविधियुक्त भरपर्दो र सुरक्षित डिजिटल बैङ्किङ प्लेटफर्म