अर्थ

सिमेन्ट आयात घट्यो, क्लिंकरको बढ्यो

काठमाडौं – मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुन लागेको चर्चा चलिरहँदा यसको आयात घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सिमेन्ट आयात झन्डै २४ प्रतिशतले घटेको हो।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार चालु आव ०७४-७५ को पहिलो ६ महिनामा मुलुकमा ४१ करोड २३ लाख रुपैयाँको सिमेन्ट आयात भएको छ । यो गत वर्षको सोही अवधीको भन्दा २४ प्रतिशत कम भएको तथ्यांकमा उल्लेख छ । गत वर्षको पहिलो ६ महिनामा ५१ करोडको सिमेन्ट आयात भएको थियो ।सिमेन्टमा आत्मनिर्भर हुन यसको कच्चा पदार्थमा पनि आत्मनिर्भर हुनु पर्नेछ । सिमेन्ट आयातमा कमी आए पनि क्लिंकर आयात भने बर्सेनि बढ्दै गएको छ।

मुलुकमा आर्थिक वर्ष ०७२-७३ मा झन्डै दुई अर्ब बराबरको सिमेन्ट आयात भएको थियो । आर्थिक वर्ष ०७१-७२ मा देशभित्र दुई अर्ब ११ करोड नौ लाख रुपैयाँको सिमेन्ट आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । यो त्यसअघिको आर्थिक वर्षमा भन्दा झन्डै एक अर्बले कम हो । आर्थिक वर्ष ०७०÷७१ मा मात्रै तीन अर्ब १८ करोड ५९ लाख बराबरको सिमेन्ट भित्रिएको थियो ।उता, क्लिंकरको आयात भने उच्च भएको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकमा १० अर्ब ६३ करोडभन्दा धेरै मूल्यको क्लिंकर आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा चालु आव ०७४÷७५ को पहिलो ६ महिनामा एक अर्ब २७ करोड ८६ लाखभन्दा धेरै केजी क्लिंकर आयात भएको छ । यसको मूल्य १० अर्ब ६३ करोडभन्दा धेरै छ । गत आर्थिक वर्षमा २४ अर्ब ९६ करोड रुपैयाँको दुई अर्ब ९३ करोड ९१ लाख केजी क्लिंकर आयात भएको थियो ।आर्थिक वर्ष ०७३-७४ मा नौ अर्ब ८३ करोड ५४ लाखभन्दा धेरैको क्लिंकर आयात भएको थियो । सिमेन्ट उत्पादन गर्न चाहिने प्रमुख कच्चा पदार्थको रुपमा रहेका क्लिंकर भारत लगायत विभिन्न देशबाट आउने गरेको छ।

हाल देशमा झन्डै ५० वटा सिमेन्ट उद्योग छन् । तीमध्ये ५५ देखि ६० प्रतिशत उद्योग सञ्चालन गर्दै क्षमता बढाइरहेका छन् । यी उद्योगले वार्षिक ५० लाख टन सिमेन्ट उत्पादन गरिरहेका छन् ।
मुलुकमा सञ्चालित ठूला परियोजनाका लागि भारतबाट सिमेन्ट आउने गरेको छ ।

व्यवसायीका अनुसार १५ देखि २० प्रतिशत सिमेन्ट यसैका कारण भारतबाट आउने गरे पनि यस वर्ष भने घटेको देखिन्छ । ठूला आयोजना निर्माण गर्न ग्रेडको सिमेन्ट चाहिने भएकाले भारतबाट सिमेन्ट आयात भएको व्यवसायी बताउँछन् । विशेष गरी आइबिसी (इन्टरनेसनल बिडिङ कम्पिटिसन) का कारण सिमेन्ट र डन्डी ल्याउँदा भन्सार छुट पाइने भएकाले आयात गरिएको हो । कुनै पनि ठूलो आयोजनालाई विशेष किसिमको सिमेन्ट (जस्तो ५३ ग्रेडको) चाहियो भन्ने प्रावधानका कारण बाहिरबाट सिमेन्ट आएको छ । नेपालमा अहिलेसम्म ग्रेडका आधारमा सिमेन्ट उत्पादन भएको छैन ।

प्रकाशित: १८ फाल्गुन २०७४ ००:५७ शुक्रबार

सिमेन्ट आयात घट्यो क्लिंकरको बढ्यो