अर्थ

रसुवागढी नाकाबाट ११ करोड २४ लाखको कुचो निर्यात

रसुवा– अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ११ करोड २४ लाख रुपैयाँ भन्दा बढीको अम्रिसो कुचो चीन निर्यात भएको छ।

छिमेकी देश चीनमा नेपाली उत्पादनको प्रयोग बढ्दै जाँदा साढे दुई वर्षमा ११ करोड २४ लाख ६ हजार ६ सय रुपैयाँ मूल्य बराबरको कुचो निर्यात भएको हो । नाकाबाट यो अवधिमा ७५ हजार ६ सय ४० केजी कुचो निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेले जनाएको छ।

आर्थिक वर्ष ०७२-७३ मा तीन करोड ५८ लाख ६६ हजार ६ सय मूल्य बराबरको २३ हजार दुई सय ९० केजी, ०७३-०७४ मा चार करोड ७७ हजार चार सय रुपैयाँ बराबरको ३३ हजार एक सय ५० केजी र चालु आर्थिक वर्षको ६ महिनामा दुई करोड ८८ लाख मूल्य बराबरको १९ हजार दुई सय केजी कुचो चीन निर्यात भएको छ।

भूकम्प र पहिरोको कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका औपचारिक रुपमा सञ्चालनमा आएको थियो । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नाकाबाट पछिल्लो समय आयात–निर्यात बढिरहेको छ ।नेपालबाट चीनतर्फ बाँसको मुडा, अम्रिसोको कुचो, बुद्धचित्त, काठको धुप राख्ने स्ट्यान्ड, रुद्राक्ष, काठको प्लेट, काठको आँखी झ्याल लगायत वनजन्य सामग्री निर्यात भइरहेको प्लान्ट क्वारेन्टाइन अधिकृत रामनारायण यादवले जानकारी दिए ।  रसुवागढी नाका हुँदै चीन पु¥याइएको नेपाली सामग्री केरुङ, ल्हासा, सिगात्से, न्यालम र धिङ्ग्रीमा खपत हुने गरेको छ ।

 

प्रकाशित: १८ फाल्गुन २०७४ ००:५२ शुक्रबार

रसुवागढी नाकाबाट ११ करोड २४ लाखको कुचो निर्यात