अर्थ

विकास बैंकले पनि ब्याज नबढाउने

काठमाडौं–  वाणिज्य बैंकहरुले जस्तै विकास बैंकले पनि ब्याजदर नबढाउने भद्र सहमति गरेका छन् । कल डिपोजिटमा साढे सात र मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति उनीहरुले गरेका हुन्।

वाणिज्य बैंकभन्दा विकास बैंकको ब्याजदर बढी गर्न नहुने निष्कर्षमा पुगेर यस्तो सहमति भएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष कृष्णराज लामिछानेले बताए । ‘अनौपचारिक छलफलमा यस्तो निष्कर्षमा पुगिएको हो,’ महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लामिछानेले भने, ‘अहिले विकास बैंकले कल डिपोजिटमा साढे सात र मुद्दतीमा १२ प्रतिशत ब्याजमा निक्षेप लिएका छन् । त्योभन्दा बढी ब्याज नलिने सहमति भएको हो।’

आगामी शुक्रबारसम्म वाणिज्य बैंकले पनि मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज नलिने सहमति गरेका थिए । वाणिज्य बैंकहरुको निर्णयपछि विकास बैंकले पनि आवश्यक निर्णय लिने जानकारी उनले दिए ।
 

प्रकाशित: १७ फाल्गुन २०७४ ०२:२६ बिहीबार

विकास बैंकले ब्याज नबढाउने