अर्थ

धरान-चतरा सडक समयभित्रै निर्माण सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक समयमै गुणस्तरीय रुपमा सक्न निर्देशन दिएका छन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गको विकल्प मानिएको सडक आयोजनाको मकवानपुरमा पर्ने खण्डको बुधबार निरिक्षण गर्दै उनले समृद्धि र विकासका लागि सडक समयमै सक्नुपर्नेमा जोड दिए।

‘प्रदेश सरकार, केन्द्रिय सरकारको एउटै अर्जुनदृष्टि भनेको विकासलाई गति दिने हो।’ उनले भने, ‘समृद्ध नेपाल बनाउन चाडै आर्थिक विकास गर्न छिटो भन्दा छिटो विकास निर्माण गर्नै पर्छ।’ निर्माणमा समस्या भए सक्दो सहयोग गर्न आफुहरु तयार रहेको भन्दै उनले सरकारको गति अनुसार काम गर्न आग्रह पनि गरे।

सडक आयोजना पश्चिम खण्डका प्रमुख कर्णबहादुर रानाभाटले सडकले तत्कालिन पूर्वाञ्चल र मध्यमाञ्चलका क्षेत्रीय सदरमुकामहरु, सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरु जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रुपमा काम गर्ने बताए। सडकको ट्रयाक निर्माण सम्पन्न भई केही भागमा सवारी साधन चलिरहेको बताउँदै उनले सडकलाई ११ मिटर चौडाई रहेको २ लेनमा स्तरोन्नती गर्न मन्त्रिपरिषदको निर्णय बमोजिम ठेक्का दिएर काम भईरहेको बताए। सडक आयोजना पश्चिम खण्डका प्रमुख रानाभाटले मकवानपुरतर्फ २० प्रतिशत भौतिक प्रगति भएको बताउँदै चालुआर्थिक बर्षमा गरिने कार्यको बारेमा जानकारी गराए। उनले सडक सीमा भित्रको घर–टहरा हटाउँदै क्षतिपूर्ति दिन, फास्ट ट्रयाकसँग जोडिएको स्थानमा व्यवस्थापन गर्न, रुखहरु कटान गर्न, सडकमा पर्ने पोल र पाइपहरुको व्यवस्थापन गर्न मुख्य समस्या रहेको बताउँदै समाधानका उपायहरु पनि बताए।

आयोजनाको कुल लम्बाई ३ सय १८ किलोमिटर मध्ये उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्मको १ सय ३५ किलोमिटर पूर्वी र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किलोमिटर सडकलाई पश्चिमी खण्डको रूपमा विभाजन गरिएको छ। १ सय १५ किलोमिटर रहेको पश्चिम खण्डको मकवानपुरमा ४८ दशमलव ६१ र सिन्धुलीमा ६६ दशमलव ४३ किलोमिटर रहेको छ। १ सय १५ किलो मिटर सडक स्तरोन्नतीका लागि ६ सय करोड र ३३ वटा पुल निर्माण गर्न ३ सय करोड गरि कूल ९ सय करोड रुपैंयामा सम्झौता भई निर्माण कार्य भइरहेको छ। ३ बर्ष निर्माण अवधि रहेको सडक आयोजनालाई कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले २०७३ कात्तिक २२ गते ठेक्का सम्झौता गरेको थियो। ५७ स्थानमा कजवे, ह्युम पाईप ३ सय ९७ वटा, बक्स कल्भर्ट १९, स्ल्याब कल्भर्ट ४ रहने आयोजना पश्चिम खण्ड कार्यालय, हेटौंडाले जनाएको छ।
मकवानपुरतर्फ ३५ किलोमिटर सडक चौडा गरि स्टक्टर निर्माण कार्य भईरहेको भन्दै उनले ९ वटै पुलहरुको जग र सवस्टक्टर निर्माण सम्पन्न भएको बताए।

उनले सडक आयोजना पश्चिम क्षेत्र अन्तरगतको हेटौंडा–राईगाउँ खण्डको निरिक्षण गरेका थिए। पौडेलसहितको टोली बकैया गाउँपालिकाको छतिवनहुँदै राईगाउँसम्म पुगेको थियो। टोलीले निर्माणाधिन पुलहरु, सडकको टेवा पर्खाल र काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्रयाक) संगम स्थलको अवलोकन गर्दै जानकारी लिएको थियो।

अनुगमन टोलीमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, प्रदेश सभा सदस्यहरु प्रेमबहादुर पुलामी, दीपक निरौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, आयोजनाका प्रतिनिधि लगायत थिए।

प्रकाशित: १६ फाल्गुन २०७४ १५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App