अर्थ

गोलभेंडाले पायो मूल्य

सर्लाहीको लालबन्दी बजारमा किसानको गोलभेंडा बोकेका टायरगाढा। तस्बीर : टंक/नागरिक

सर्लाही – उत्पादन घटे पनि फागुन दोस्रो साता बित्न लागिसक्दा समेत गोलभेंडाको राम्रो मूल्य पाउँदा किसान दंग छन् ।
‘अहिले किसानले पाएको गोलभेंडाको मूल्य वर्षौंयताको बढी हो,’ नवलपुर कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष ब्रह्मदेव महतोले भने, ‘फागुन दोस्रो साता बित्न लागे पनि किसानले प्रतिकिलो ३० रुपैयाँसम्म थापिरहेका छन्, यो समयमा यतिको मूल्य पाएको मलाई अहिलेसम्म थाहा छैन।’

महतोका अनुसार विगतमा फागुन लागेसँगै प्रतिकिलो ४–५ रुपैंयामा किनबेच हुने गोलभेंडा यो वर्ष भने २० देखि ३० रुपैयाँमा किनबेच भइरहेको छ । ‘विगतमा फागुन लागेपछि गोलभेंडाको मूल्य निकै घट्थ्यो,’ सासापुरका किसान महमुद आलमले भने, ‘तर यस वर्ष यथावत छ, जुन हामीजस्ता किसानका लागि खुसीको कुरा हो।’

पछिल्लो केही दिनयता गोलो गोलभेंडा २० देखि २२ रुपैयाँ तथा लाम्चो २८ देखि ३० रुपैयाँ प्रतिकिलोमा किनबेच भएको अध्यक्ष महतोले बताए । उत्पादनको थालनीमा प्रतिकेजी सय रुपैयाँसम्म भाउ रहेको गोलभेंडा पुस १५ यता २५ रुपैयाँ हुँदै माघमा १२ रुपैयाँसम्ममा किनबेच भएको थियो । फागुन लागेसँगै पुनः बढेर प्रतिकेजी २० देखि ३० रुपैयाँमा किनबेच भइरहेको छ।

माग अनुसार गोलभेंडा बजारमा नआउँदा मूल्य नघटेको कृषि उपज बजार सञ्चालक समिति लालबन्दीका कर्मचारी जयदेव घिसिङले जानकारी दिए । ‘बजारमा गोलभेंडा नै आउन सकेको छैन,’ उनले भने, ‘त्यसैले यो वर्ष फागुन आधा बित्दा समेत किसानले राम्रो भाउ पाएका छन् ।’ फागुन दोस्रो साता समेत गोलभेंडा किसानले यति धेरै मूल्य पाएको आफूले यसअघि कहिल्यै थाहा नपाएको घिसिङको भनाइ छ।

प्रतिकेजी १५ रुपैयाँको अनुपात रहे बाहिर निकासी हुने र जिल्लामै खपत हुने गोलभेंडाको मात्र सर्लाहीमा एक सिजनको ३५ करोड रुपैयाँ हाराहारी कारोबार हुने गर्छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको उत्तरी क्षेत्रस्थित ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर र बागमती नगरपालिका क्षेत्रको करिब दुई हजार हेक्टर क्षेत्रफलमा गोलभेंडा खेती हुन्छ।


 

प्रकाशित: १५ फाल्गुन २०७४ ०५:४४ मंगलबार

गोलभेंडाले पायो