अर्थ

पोखराका पूर्वाधार बनाउन एडिबीसँग सहकार्य, साढे ४ अर्ब रुपैयाँ खर्चदैं

पोखराका विभिन्न पर्यटकीय पूर्वाधारको स्तरोन्नती तथा सौन्दर्यकरण गर्नेगरि एशियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने भएको छ। दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित पोखरा सहरभित्रका विभिन्न सातवटा पूर्वाधारका लागि साढे चारअर्ब रुपैयाँ बराबर रकम खर्च गर्नेगरि एडिबी र महानगरबीच सम्झौता भएको हो।  

सहरी विकास मन्त्रालयमा भएको दिगो पर्यटन विकासका परियोजनासँग सम्बन्धित सम्झौतामा परियोजना प्रमुख रोशनकुमार श्रेष्ठ र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले हस्ताक्षर गरेका छन्। महानगरका अनुसार आगामि पाँचवर्षभित्र काम सक्नेगरि पोखरा सहरभित्र ती पूर्वाधार बनिसक्नेछन्। जसले यहाँको पर्यटन प्रवद्र्धन र स्थानीयको जीवन सुधारमा विशेष भूमिका खेल्नेछ।  

महानगरकी प्रोजेक्ट म्यानेजर अलका प्रजापतीका अनुसार फेवा इकोट्रेल, पोखराका पुरानो बस्ती संरक्षण, केआईसीं पुलको बगैंचा सुधार, पञ्चासे इको टुरिजम, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्मको फास्ट ट्रयाक (वैकल्पिक मार्ग), रानीवनको बोटानिकल गार्डेन, लेक–टु–लेक साइकल ट्रयाकका पूर्वाधार तयार हुनेछन् उनका अनुसार पोखराभित्रका विभिन्न १५ वटा आयोजना पहिलो चरणमा छनोटमा परेको भएपनि अहिलेका लागि सातवटा पूर्वाधारका लागि लगानी गर्नेगरि महानगर र एडिबीबीच सम्झौता भएको हो। सावटा पूर्वाधारको नौ महिनाभित्र डिपिआर तयार भईसक्ने उनले बताईन।  

‘डिपिआरका लागि कन्सलट्यान्ट छनोट गर्नेगरि सूचना निकाल्ने तयारी भएको छ। केहीदिनभित्र कन्सल्ट्यान्टका लागि सूचना आउनेछ। त्यसपछि कन्सल्ट्यान्ट छनोट हुनेछ। छानिएको कन्सल्ट्यान्टले नौ महिनाभित्र डिपिआर तयार पार्नेछ,’ प्रजापतिले भनिन, ‘त्यसपछि बल्ल संरचनाको काम सुरु हुनेछ। डिपिआरको अवधि छाडेर चारवर्षभित्र सबै काम सकिनेछ। डिपिआरका लागि छानिएको कन्सल्ट्यान्टले पूर्वाधार निर्माण चरणमा पनि अनुगमन गर्नेछ।’

प्रजापतिका अनुसार साढे चारअर्ब रुपैयाँमध्ये ७५ प्रतिशत एडिबीमार्फन नेपाल सरकारले पोखरा महानगरपालिकालाई अनुदान दिनेछ। बाँक २५ प्रतिशत भने महानगरपालिकाले जोहो गर्नेछ। प्रजापतिका अनुसार फेवा इको ट्रेल अन्तर्गत रावीवनदेखि शान्तिस्तुपसम्मको रुटलाई स्तरोन्नती गरिनेछ। त्यस्तै टे«लमा शौचालय, खानेपानीका पूर्वाधार पनि बनाइनेछ । सूचनाकेन्द्र पनि थप गरिनेछ।  

पोखराको पूरानो बस्ती संरक्षण गर्ने क्रममा पोखरा महानगरपालिका–२,३ र ४ को सिद्धार्थचोकदेखि विन्ध्यवासिनीसम्म करिब २ किलोमिटर दूरीमा फूटपाथमा ढुंगा छापिनेछ। यो क्षेत्र पोखराको पुरानो बस्ती भएको ठाउँ हो। ‘पूरानो बस्ती संरक्षण गर्ने उद्देश्य सहित त्यस क्षेत्रको फूटपाथमा ढुंगा बिच्छ्याउने हो,’ उनले भनिन, ‘पुरानो बस्ती र त्यहाँका सम्पदा संरक्षण गर्ने योजना हो। पोखराको पूरानो बस्ती भएकोले पनि त्यसको महत्व रहेको छ।’

केआईसिं पुलको पार्क संरक्षणका लागि पनि काम हुनेछ। त्यस क्षेत्रमा पार्क, सूचना केन्द्र, सेतीगर्जमाथि शिशाको पुल, क्यान्टिलिभर पुल लगायतका पूर्वाधार पनि बन्नेछन। पञ्चासेमा भने १३ किलोमिटर दूरीको सडक कालोपत्रे हुनेछ। पञ्चासेको भञ्ज्याङसम्म सडक कालोपत्रे गर्ने र पञ्चासे वन क्षेत्र संरक्षण गर्नेगरि काम हुने पनि उनले बताईन।

त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्मको दूरीमा वैकल्पिक सडक तयार हुनेछ । अहिले पृथ्वीराजमार्ग भएर आउजाउ गर्नुपर्दा भीडभाडले समस्या हुने गरेको छ। तर,त्यसलाई विकल्प दिनेगरि विभिन्न रुट तय गरिएको भएपनि हरियोखर्क, वन क्याम्प हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पछिल्लोतर्फको गेटसम्म जानेगरि वैकल्पिक सडक तयार हुनेछ।

‘अहिले राजमार्गबाट हिडडुल गर्दा भीडभाड हुने गरेको छ। सवारीको चापले हिडडुल सहज छैन। त, अब त्यसलाई विकल्प हुनेगरि फास्ट ट्रयाक तयार हुनेछ,’ उनले भनिन्, ‘यसले पर्यटकीय क्षेत्र लेकसाइडबाट विमानस्थलसम्मको आउजाउ छिटो हुनेछ।’ त्यसैगरि कुनैपनि रुख नकाटि शान्तिवनलाई संरक्षण गरिनेछ। पोखरा क्षेत्रका तालहरुलाई साइकल ट्रयाकमार्फत जोड्नेगरि पनि पुर्वाधार तयार हुनेछ। करिब ८५ किलोमिटर दूरीको साइकल ट्रयाक तयार हुने प्रजापतिले बताईन।  

यस परियोजनाले पोखराको समग्र विकासमा योगदान दिने पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए। सम्झौताको कार्यान्वयनका लागि महानगरपालिकाको तर्फबाट सबै प्रकारको सहयोग तथा सहजिकरण गर्ने पनि उनले बताए। महानगरपालिकाको तर्फबाट परियोजना कार्यान्वयनका लागि छुट्टै प्रोजेक्ट अफिस स्थापना गरी आवश्यक कर्मचारीको व्यवस्थापन गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिए।  

प्रकाशित: ४ माघ २०८० ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App