अर्थ

रसुवाको थाङ्दोरमा विद्युत सेवा बिस्तार

विद्युतको उद्घाटन गर्दै नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बुसाङ्बो घले । तस्बिर : नागरिक

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकाको थाङदोरमा विद्युत सेवा विस्तार भएको छ। गाउँपालिकाको अधिकांश स्थानमा विद्युत नपुग्दा दैनिक कामकाज सञ्चालन गर्न र विद्युतीय उपकरणको प्रयोग गर्न नसकिएपछि नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा विस्तार गरेको हो। विद्युत विस्तार भएसँगै त्यहाँका एक सय ३७ घरधुरी लाभाम्वित भएका छन्। 

राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्नु अगाडी यार्सामा दुई वटा लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याइएको थियो। ३३ महिनाअघि गएको भूकम्पले लघु जलविद्युत आयोजना पूर्ण क्षति गरेपछि त्यहाँका पाँच वटा गाउँका तीन सय भन्दा बढी परिवार विद्युत सेवाबाट बञ्चित हुन पुगेका थिए। 

आयोजना बन्द भएपछि यार्साको थाङ्दोर, दोक्लाङ, साङ्ग्युल, बच्चा लगायतको क्षेत्रका उपभोक्ता मर्कामा परेका थिए। साङ्ग्युलमा केही समयअघि विद्युत सेवा विस्तार भइसकेको छ। अन्य क्षेत्रमा आगामी असार मसान्तभित्र विद्युत विस्तार हुने गरी कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष नुर्पुसाङ्बो घलेले बताए। 

गाउँपालिकास्थित यार्सा र सरमथलीको केही स्थानमा विद्युत सेवा पुग्न बाँकी रहेको उनले बताए। यार्साको सिम्बन्दी, घाङ्मर, दोकलाङ, बच्चा र सरमथलीको लारच्याङमा विद्युत सेवा विस्तारको कार्य भइरहेको गाउँपालिकाका उपाध्यक्ष सृजना लामाले बताइन्। 

‘विकासका लागि विद्युतको आवश्यकता पर्छ, गाउँमा विद्युत पु¥याउनका लागि हामीले निर्वाचित हुनुपूर्व नै पहल थालेका थियौँ, उनले भनिन्, असारसम्ममा सबै घरमा विजुली बाल्नका लागि ठेकेदारलाई घचघचाई रहेका छौँ।’ यो आर्थिक वर्षभित्र गाउँपालिकाको सबै घरमा विद्युत सेवा विस्तार हुने प्राधिकरणले जनाएको छ। 

जिल्लामा भूकम्प जानूपूर्व ५ वटा लघु जलविद्युत आयोजना सञ्चालनमा रहेका थिए। भूकम्पले क्षति गरेपछि ती आयोजना अहिले सञ्चालनमा आएका छैन्। विद्युत नपुगेको ठाउँमा अहिले धमाधम राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार भइरहेको नेपाल विद्युत प्राधिकरण धुन्चे केन्द्रले जानकारी दिएको छ। 

प्रकाशित: १४ फाल्गुन २०७४ ०९:५० सोमबार

रसुवाको थाङ्दोरमा विद्युत सेवा बिस्तार