अर्थ

बाटोले विकासको सम्भावना खुलेको छ: अर्थमन्त्री डा महत

बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको अर्थमन्त्री डा प्रकाशशरण महतले बताएका छन्।  नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत् गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले भने, मध्य पहाडी लोक मार्ग पहिला यहाँबाट लैजाने योजना थिएन।

पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना थियो। काठमाडौँबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर मैले प्रस्ताव गरेको हुँ।अहिले लोक मार्ग बनेको छ। अब यो ठाउँको शुभ दिन सुरु भएको छ।हामीले यसको भरपुर उपयोग गर्नुपर्छ।’

मन्त्री डा महतले भने, ‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, बिजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरिक भएको छ।२०४६ सालपछि विकास गाउँमा पस्यो। सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तीकरण प्रारम्भ भयो।’ 

महोत्सवमा विभिन्न खालका उत्पादन प्रदर्शनीमा राखिएकोमा खुसी व्यक्त गर्दै मन्त्री डा महतले भने, ‘रासायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको छ। सडक बनेको छ, काठमाडौं पुग्न सजिलो छ। ४५ मिनेटमा काठमाडौं पुगिन्छ।’

उत्पादनको सम्भावनालाई प्रयोग गर्न अनुरोध गर्दै मन्त्री डा महतले भने, ‘उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत ल्याएको छ। पहिला जस्तो गैर कृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ। अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ। उत्पादन देखाउँदा अनुदान पाइछ। यसको उपयोग गर्न म अनुरोध गर्दछु।’

नुवाकोट जिल्लामा बजेट राम्रोसँग परेको थिएन। डा रामशरण महत अर्थमन्त्री भएका बेला पुल र बाटो निर्माणका धेरै योजना आएका थिए। त्यसपछि केही समय रोकिएको थियो, उनले भने, अहिले जगतेदेखि गोल्फु भन्ज्याङसम्मको बाटोका लागि एक अर्ब २० करोड रुपैयाँको ठेक्का प्रक्रिया अघि बढिसकेको छ। ककनी जाने बाटोमा पनि एक अर्ब ३० करोड रुपैयाँको ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ। सूर्यगढी जोड्ने, पञ्चकन्याबाट गोल्फु भन्ज्याङ जाने बाटोका लागि बजेट विनियोजन गरिएको छ। मन्त्री डा महतले भने, उत्पादन क्षेत्रसँग जोड्ने बाटो निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने सिँचाइ आयोजनाका योजनाहरू पनि राखिएको छ। 

‘सडक निर्माणमा एकै पटक बजेट राख्न सकिँदैन। देशमा आवश्यकता धेरै छन्, आम्दानी थोरै छ।अर्थमन्त्रीले देशैभरि हेर्नुपर्छ, मैले नुवाकोटलाई मात्र हेर्न मिल्दैन’ मन्त्री डा महतले भने, नुवाकोटमा अझ धेरै बजेट राख्ने चाहना हुँदाहुँदै छुट्न गएको छ, ती आउँदा दिनमा समेटिने छन्।’

प्रकाशित: १ माघ २०८० १२:५२ सोमबार

अर्थमन्त्री डा प्रकाशशरण महत बाटोले विकासको सम्भावना खुलेको छ: अर्थमन्त्री डा महत श्री शेराबगर विकाश समाज शिवपुरी गाउँपालिका मध्य पहाडी लोक मार्ग बृहत् गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रम