अर्थ

बजेट अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब

आर्थिक वर्ष २०८०-८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ। पुस मसान्तसम्ममा मुलुकले ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत आम्दानी र ३२.३५ प्रतिशत खर्च भएको छ।

चालु आवका लागि सरकारले कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व उठाउने लक्ष्य लिएकोे छ। कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख बराबर राजस्व असुली भएको छ।

यो वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत बराबर हो। छ महिनामा कर राजश्वतर्फ ३३.९८ प्रतिशत अर्थात् चार खर्ब ४३ अर्ब ५५ करोड २० लाख उठेको छ। गैरकरतर्फ वार्षिक लक्ष्यको ४५.२३ प्रतिशत अर्थात् ५२ अर्ब ९४ करोड ७८ लाखबराबर असुली भएको छ।

चालु आवका लागि कुल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म पाँच दशमलव ५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ।

चालु आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखबराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ। यो वार्षिक लक्ष्यको ३२.३५ प्रतिशत बराबर हो।

चालुगत शीर्षकमा कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकोमा ३८.३१ प्रतिशत अर्थात् चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ। चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८.३१ प्रतिशत हो।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकोमा १६ दशमलव तीन प्रतिशत अर्थात् ४९ अर्ब २३ करोड ५८ लाख बराबर खर्च भएको छ।

वित्तीय व्यवस्थामा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाखबराबर बजेट विनियोजन भएकामा २६ दशमलव दुई प्रतिशत अर्थात् ८० अर्ब ४३ लाख बराबर खर्च भएको छ। –रासस

प्रकाशित: १ माघ २०८० ०७:४७ सोमबार

महालेखा नियन्त्रक कार्यालय अर्धवार्षिक समीक्षा आम्दानीभन्दा खर्च बढी