अर्थ

‘ऊर्जा क्षेत्रमा लगानी हैन सोचको समस्या’

काठमाडौं – नेपालको ऊर्जा क्षेत्रको विकासका लागि लगानी नभई सोचको मात्रै समस्या रहेको त्यस क्षेत्रका जानकार तथा सरोकार भएका व्यक्तिले जोड दिएका छन्। 

बारबरा फाउण्डेशनले बुधबार गरेको अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले नीतिगत जटिलता हटाएर लगानीमैत्री वातावरण मात्रै बनाउने हो भने स्वदेशी लगानीमा नै ठूलो परिमाणमा जलविद्युत्को विकास गर्न सकिने बताए। नेपालमा रहेका बैंक तथा वित्तीय संस्था नै ठूला परियोजना निर्माण गर्न सक्ने अवस्थामा पुगेको तथा गतिलो प्रतिफलको सुनिश्चितता गर्ने हो भने नागरिकले पनि ठूलो मात्रामा लगानी गर्न सक्ने स्थिति रहेको बताउँदै उनीहरुले सरकारले प्राथमिकताक्रम निर्धारण गर्नुपर्ने धारणा राखे। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलेस्वदेशी संस्थामा नै ठूलो मात्रामा लगानीयोग्य रकम छ, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता संगठित संस्थामा पनि लगानीयोग्य रकम छ, नागरिकलाई विश्वास दिलाउन सके केही परियोजनाका लागि उनीहरुले नै रकम जुटाउन सक्छन् भने। 

स्वदेशी तथा विदेशी लगानी भित्र्याएर एकाध वर्षमा नेपालको जलविद्युत् क्षेत्रमा कायापलट गर्न सकिने उनको भनाइ छ। ‘गत वर्ष नेपालमा विद्युत्भार कटौती गर्दा त्यो सम्भव नरहेको भन्नेहरु थिए, तर हामीले सफल पारेर देखायौँ। नसकिने भन्ने हुँदैन, लगानी पनि भित्र्याउन सकिन्छ। मात्रै सोच र नीतिगत रुपमा प्रष्टताको जरुरी छ’, कार्यकारी निर्देशक घिसिङले भने। 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले ऊर्जा सुरक्षाका लागि पनि वैकल्पिक ऊर्जालाई पनि विशेष जोड दिइनुपर्ने तथा ग्रामीण क्षेत्रका सबै स्थानमा प्रसारण लाइन निर्माण गर्न समस्या हुने भएकाले सौर्य परियोजना र वायु ऊर्जामा समेत लगानी गर्नुपर्ने बताए।

आयोगकै पूर्वसदस्य डा अरविन्दकुमार मिश्रले ७५३ वटै स्थानीय तहमा ऊर्जा उपलब्धताका लागि कार्ययोजना तयार पारिएको जानकारी दिँदै प्रसारण प्रणाली नपुगेका स्थानमा ‘मिनी ग्रीड’ र ‘माइक्रो ग्रीड’ निर्माण गरेर नागरिकलाई सहज रुपमा ऊर्जा उपलब्ध गराउन सकिने भएकाले स्थानीय तहमा ऊर्जा अवधारणा कार्यान्वयनमा ल्याउन खोजिएको बताए। 

जनसंख्याका क्षेत्रमा काम गर्दै आएकी डा कुसुम शाक्यले लैङ्गिक समानताका लागि समेत ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्ने उल्लेख गरिन। सकारात्मक विषयमा चर्चा परिचर्चा गर्ने लक्ष्यका साथ फाउण्डेशनले परिचर्चा कार्यक्रम शुरु गरेको कार्यक्रमका संयोजक दिलभूषण पाठकले जानकारी दिए। 

प्रकाशित: १० फाल्गुन २०७४ १५:४४ बिहीबार

ऊर्जा क्षेत्रमा लगानी हैन सोचको समस्या