अर्थ

जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयर धनीलाई १४ प्रतिशत बोनस शेयर दिने भएको छ। आइतबार सम्पन्न पाँचौ साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

जीवन विकासको चुक्ता पुँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँको १४ प्रतिशत अर्थात् १६ करोड  ५४ लाख ८४ लाख ७ सय बराबरको बोनस शेयर वितरण गर्ने भएको छ। बोनस शेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४ सय ९८ रुपैयाँ नगद लाभांश दिनेछ। बोनस वितरणपछि संस्थाको चुक्ता पुँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९ सय रुपैयाँ पुगेको छ।

साधारण सभाले अन्य लघुवित्त संस्थासँगको मर्जर र प्राप्तिका लागि आवश्यक कार्य गर्नका लागि सञ्चालन समितिलाई अधिकार दिने निर्णय पनि गरेको छ।

साधारण सभा बोल्दै गर्दै प्रतिनिधिसभा सदस्य सांसद योगेन्द्र मण्डलले लघुवित्तलाई  बचाउनु पर्ने अवस्था आएको बताए। पछिल्लो समयमा लघुवित्तविरुद्ध विभिन्न अभियान चलिरहेको बताउँदै, सांसद मण्डलले भने, ‘यस्तो समयमा सदस्य केन्द्रित सेवा प्रदान गरेर लघुवित्तलाई जोगाउनु पर्छ। गरिबी न्यूनीकरणका लागि गाउँ तहमा पुगेको लघुवित्तले नागरिकको आर्थिक र सामाजिक हैसियत उकास्नका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।’

पछिल्लो समय लघुवित्तविरुद्ध विभिन्न गलत हल्ला फैलिँदै आएको छ। गलत हल्लाले देशभरका लघुवित्तहरू प्रभावित भएको बताउँदै, सांसद मण्डलले भने, ‘लघुवित्तले त्यस्ता भ्रम चिर्नका लागि समुदायसँग निरन्तर जोडिने कार्यक्रमहरू गर्नुपर्छ।’  

संस्थाका सञ्चालक समिति सदस्य गोकर्ण खतिवडाले जीवन विकासले अघि सारेका योजनाहरूलाई जीवन विकास वादको रुपमा विकास गरेर लैजानुपर्ने बताए। समाज सेवाका रुपमा लघुवित्तले आफ्ना विभिन्न कार्यक्रम सुरु गरेको छ। उनले जीवन विकासले सुरु गरेका कार्यक्रमहरूलाई अभियानको रुपमा अघि बढाउन आग्रह गरे।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले विश्वव्यापी आर्थिक मन्दी र समुदायमा बैंक तथा वित्तीय संस्थाहरू विरुद्धको गतिविधिले गर्दा गत वर्ष चुनौतीपूर्ण रुपमा बितेको बताए।

राष्ट्र बैंकको एक व्यक्ति एक बैंकको नीतिको कारण वित्तीय संस्थाहरूले आवश्यकता अनुसार ऋण लगानी गर्न नसकेको बताउँदै, सुवेदीले भने, ‘बैंकको किस्ता तिर्नु हुँदैन भन्ने केही व्यक्तिको अशोभनीय अभिव्यक्तिका कारण संस्थालाई असर पुगेको छ। विपन्न तथा असहाय परिवारलाई आयमूलक कार्यमा सामेल गराई सहयोग गर्ने लघुवित्तको काम प्रभावकारी रुपमा अघि बढेको छ।’

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलका अनुसार २४ जिल्लामा फैलिएको लघुवित्तमा ३ लाख ४ हजार सक्रिय सदस्य छन्। ती सदस्यको १० अर्ब ३ करोड १८ लाख निक्षेप लघुवित्तमा छ। २२ अर्ब ३७ करोड  १७ लाख कर्जा प्रवाह गरेको लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा ३४ करोड २० लाख खुद मुनाफा गरेको मण्डलले बताए। 

प्रकाशित: २९ पुस २०८० १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App