अर्थ

चैतमा ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’

काठमाडौं – नेपाली युवा उद्यमी मञ्चले ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ मेला गर्ने भएको छ । राइजिङ नेपाल प्रालि र माइस इन्टरनेसनल प्रालिको व्यवस्थापनमा चैत २ देखि ४ गतेसम्म उक्त  मेला आयोजना हुनेछ ।

नेपाली युवा उद्यमीको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंको भृकुुटीमण्डमा तीनदिने प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनीको संयोजक सुदर्शन बस्नेतले स्वदेशी वस्तुको प्रवद्र्धनका लागि छैटौंपटक प्रदर्शनी आयोजना गर्न लागेको बताए । ‘मुलुकका सबै जिल्लाका युवा उद्यमीले उत्पादन गरेको वस्तु एकै छानामुनि प्रदर्शन गर्ने तयारी छ,’ संयोजक बस्नेतले भने, ‘स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय तहमा बजार खोज्न पनि यो मेला प्रभावकारी हुनेछ ।’

प्रदर्शनीमा नेपाली वस्तु उत्पादक तथा सेवा प्रदायक उद्योगको सहभागिता रहनेछ । मेलामा हरेक जिल्लाको पहिचानसँग जोडिएका वस्तु तथा सेवाको सहभागिता रहने आयोजकले जनाएको छ ।‘हाम्रो पनि, राम्रो पनि’ नारासाथ यसपटकको मेला आयोजना गरिएको इभेन्ट म्यानेजर दिपक थापाले बताए । प्रदर्शनीमा एक सय ५० भन्दा बढी स्वदेशी प्रदर्शकको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०१:३४ बुधबार

चैतमा मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी