अर्थ

चितवनका दुग्ध किसानले पाएनन् २२ लाख भुक्तानी

रत्ननगर नगरपालिका–१६ स्थित भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थामा दुई सयभन्दा बढी किसानले दूध संकलन गर्दछन्। यहाँबाट किसानले पन्ध्र दिनको अवधिमा रकम भुक्तानी पाउने गर्दथे। यसपटक भने किसानले तीन महिनादेखि भुक्तानी पाएका छैनन्। सहकारी संस्थाका अध्यक्ष युवराज थापा ७५ लाख रुपैयाँ किसानलाई भुक्तानी दिन नसकिएको बताउँछन्।

‘हाम्रो सहकारीमा दैनिक तीन हजार लिटरको हाराहारीमा दूध संकलन हुन्छ। दुग्ध कम्पनीले हामीलाई पैसा नदिँदा असोजदेखिको ७५ लाख रुपैयाँ होल्ड गर्नुपरेको छ,’ उनले भने ‘हामीलाई पैसा नआएसम्म किसानलाई दिन सक्ने अवस्था छैन।’ यस सहकारीबाट काठमाडौँ, चितवन लगायतका पाँच वटा डेरी उद्योगमा दूध जाने गरेको छ।

दुध बेचेर गुजारा चलाउँदै आएका चितवनका हजारौँ किसानले भदौदेखि पैसा पाएका छैन्। भरतपुर महानगरपालिका–१६मा रहेको गौरव दुग्ध उत्पादक सहकारी संस्थाले दुधको भुक्तानी नपाएपछि किसानलाई नौनी र पाउडर दूध बेच्न थालेको छ। ‘किसानलाई दिने पैसा भएन। १५ दिनमा कम्तीमा एक पटक एक दिनको नौनी र पाउडर दुःख दिने गरेका छौँ,’ संस्थाका अध्यक्ष प्रेमसागर कंडेलले भने, ‘डेरी उद्योगले नियमित पैसा नदिँदा हामीलाई समस्या भएको छ।’

आठ सय १० लिटर दूध पाउडर बनाउन लैजाँदा सहकारीलाई एक लाख १५ हजार रुपैयाँ घाटा हुने उनले बताए। किसानलाई उनीहरुले प्रतिकेजी एक हजार दुई सय रुपैयाँ पाउडर दूध बेच्ने गर्दछ। उनले ऋण खोजेर किसानलाई पुस १५ दिनसम्मको पैसा भुक्तानी गरेको बताए। डेरी उद्योगबाट करिब ५० लाखको हाराहारीमा भुक्तानी हुन बाँकी रहेको उनको भनाई छ।

यहाँका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रुपैयाँ रकम पाउन नसकेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए। जिल्लामा रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले पनि दूधको पैसा पाउन नसकेको उनले बताए।

उनका अनुसार असोजदेखिको भुक्तानी रकम पाएका छैनन्। ‘यहाँबाट नेपालमा भएका ३१ उद्योगमा दुग्ध जाने गरेको छ। दुग्ध विकास संस्थानमा मात्रै दैनिक ३५ हजार लिटर जान्छ,’ उनले भने ‘उनीहरुले तीन महिनादेखि भुक्तानी गरेका छैनन्।’ चितवनबाट एक लाख ५१ हजार लिटर दूध दैनिक बाहिरी जिल्ला जाने गर्दछ। अहिले मुस्किलले दूध बेच्नु परेको उनले बताए। ‘जिल्लामा होलिडे भएको छैन। राती भएपनि लगेका छन्,’ उनले भने ‘पैसा माग्यो भने दूध लिन आउँदैन। पैसा नलिने हो भने व्यवहार चलाउन कठिन छ।’

कतिपय सहकारी संस्थाले ऋण खोजेर किसानहरूलाई भुक्तानी गरेको उनले बताए। यस सहकारी संस्था अन्तरगत ४० हजार हाराहारीमा किसान आबद्ध छन्।

हरेक पन्ध्र पन्ध्र दिनमा दूधको भुक्तानी पाउनुपर्ने भए पनि लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन बन्दै गएको उनको भनाइ छ।

दुग्ध विकास बोर्डबाट यहाँका किसानले ११ करोड, पोखरामा रहेको सुजल डेरी उद्योगले दुई करोड र अन्य निजी डेरी कम्पनीको गरेर २२ करोड रुपैयाँ रकम बाँकी रहेको छ। यहाँका किसानले प्रतिलिटर अधिकतम  ६८ रुपैयाँ पाउँदै आएका छन्।

उत्पादित दूध बिक्री गर्न कठिन हुने गरेको उनले बताए। अघिल्ला वर्षको तुलनामा यस वर्ष यो समयमा कम दूध बिक्री भएको उनले बताए। दुग्ध किसानको रकम भुक्तानीका लागि प्रदेश र सङ्घीय मन्त्रिलाई पटक पटक भेट गर्दासमेत समस्या समाधन हुन नसकेको उनले बताए।

‘प्रदेश कृषि मन्त्रीलाई बागमती प्रदेशका किसान गएर तीन पटक भेट गरेका छौँ, सङ्घीय मन्त्रीलाई चितवन आउँदा र काठमाण्डौँ नै गएर पाँच पटकसम्म भुक्तानीका लागि पहल गरिदिन भन्यौँ,’अध्यक्ष बगालेले आक्रोशित हुँदैन भने ‘हाम्रा कुरालाई बेवास्ता गर्दै आउनुभएको छ।’ 

दूधको भुक्तानी समयमै हुनुपर्ने र बजारीकरणमा सहज गर्नुपर्ने लगायतका पाँच वटा माग राख्दै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ।

आगामी २८ गतेदेखि आन्दोलन गर्ने बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो। ‘हामीले सरकारलाई तीन दिने अल्टिमेट दिएका छौँ’, संघका सचिव कल्याण अधिकारीले पत्रकार सम्मेलनमा भने हाम्रो माग पुरा नभए पुस २९ गते पशु विज्ञ केन्द्रमा पर्दशन गर्दछौँ, ‘माघ एक गते पशु सेवा विज्ञ केन्द्रमा ताल्चा लगाउँछौँ। माघ २ गते कृषि तथा पशुपन्छी मन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम छ।’ आफ्ना माग पुरा नभए निरन्तर आन्दोलन गर्ने उनले चेतावनी दिए। उनीहरुले बिमामा देखिको समस्याको सहजीकरण गर्नसमेत माग गरेका छन्। ‘बिमा कम्पनीले लम्की स्किनबाट मरेका पशुको अझै भुक्तानी गरेको छैन, बिमा कम्पनीले ५० प्रतिशत मात्र भुक्तानी गर्छौँ भनेको छ,’ उनले भने ‘किसानलाई सत प्रतिशत भुक्तानी दिनु पर्दछ।’

प्रकाशित: २६ पुस २०८० १२:५७ बिहीबार

किसान दुध